वैदेशिक रोजगार ठगी शून्यमा झार्ने सरकारको लक्ष्य

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रमा हुने ठगीलाई न्यूनीकरण गर्दै शून्यमा पुर्याउने लक्ष्यसहित सरकारले काम गरिरहेको बताएका छन् ।
मंगलबार ताहाचलस्थित वैदेशिक रोजगार विभागको निरीक्षणका क्रममा मन्त्री यादवले वर्षौंदेखि थन्किएका उजुरीका फाइल व्यवस्थापन गरी दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए ।
उनका अनुसार वि.सं. २०५७ सालदेखि थन्किएर रहेका ४० हजारभन्दा बढी उजुरीका फाइल हालै फेला परेका छन् । दशकौँदेखि बेवास्तामा परेका ती फाइललाई व्यवस्थित गरी डिजिटलाइज गर्ने र गहिरो अनुसन्धानमार्फत पीडितलाई न्याय दिलाउने प्रक्रिया अघि बढाइने उनले बताए ।
‘यो नयाँ सरकारप्रति जनताले गरेको विश्वासलाई आत्मसात् गर्दै हामीले वैदेशिक रोजगारसम्बन्धी ठगीलाई न्यूनीकरण गर्दै अन्ततः शून्यमा झार्ने लक्ष्य लिएका छौँ,’ उनले भने ।
मन्त्री यादवले वर्षौँदेखि उजुरीका फाइल व्यवस्थित रूपमा अध्ययन र अनुसन्धान हुन नसक्दा समस्या देखिएको उल्लेख गर्दै अब कुनै पनि उजुरी अलपत्र नपर्ने गरी काम अघि बढाइने बताए ।
उनका अनुसार अब अनलाइनमार्फत दर्ता भएका उजुरीहरू स्वतः डिजिटल प्रणालीमा अभिलेख हुनेछन् । उजुरी दर्ताका क्रममा आवश्यक विवरण कानुनी ढाँचाअनुसार स्वतः तयार हुने भएकाले सेवाग्राहीले महँगो कानुनी सहायता लिनुपर्ने झन्झटसमेत कम हुने उनले बताए ।
वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने उद्देश्यले नयाँ डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याइएको जानकारी दिँदै मन्त्री यादवले भविष्यमा वैदेशिक रोजगारसम्बन्धी अधिकांश सेवा अनलाइनबाटै उपलब्ध गराउने योजना रहेको बताए ।
उनले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरूलाई कानुनी दायरामा ल्याउने चेतावनी पनि दिए ।
‘तपाईं जहाँ लुकेर बसे पनि नेपाल प्रहरी, सम्बन्धित अनुसन्धान निकाय र वैदेशिक रोजगार विभागको समन्वयमा कानुनी दायरामा ल्याइनेछ । ठगीबाट असुलिएको रकम फिर्ता गराइनेछ र कानुनबमोजिम कारबाही गरिनेछ,’ उनले भने ।
मन्त्री यादवले वैदेशिक रोजगारसम्बन्धी मौजुदा ऐन संशोधनको प्रक्रिया अघि बढेको जानकारी दिँदै नयाँ युगअनुकूल कानुन निर्माण गरिने बताए ।
संशोधित कानुन लागू भएपछि म्यानपावर कम्पनीमा आवेदन दिन, अन्तर्वार्ताको समय लिन तथा आवश्यक प्रक्रिया पूरा गर्न काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य गरिने उनको भनाइ छ । प्रदेशस्तरबाटै सेवा प्रवाह गर्ने व्यवस्था मिलाइने उनले बताए ।
उनले आन्तरिक रोजगारी प्रवद्र्धनका लागि मन्त्रालयले १५ वटा रोजगार प्याकेजको तयारी गरिरहेको जानकारी दिए । युवाले स्वदेशमै सम्मानजनक रोजगारी पाउने वातावरण निर्माण गर्न नयाँ रोजगार नीति तयार भइरहेको पनि उनले बताए ।
वैदेशिक रोजगार क्षेत्रलाई पारदर्शी, मर्यादित र श्रमिकमुखी बनाउन अहिले ‘सफाइ अभियान’ चलिरहेको उल्लेख गर्दै मन्त्री यादवले विकृति र अनियमितता हटाएर सुधारको प्रक्रिया अघि बढाइएको बताए ।








