चोरी भएको तलेजु भवानीको ऐतिहासिक गहना फिर्ता गराउन कूटनीतिक पहल

काठमाडौं । तलेजु भवानीको चोरी भएको १४औँ शताब्दी पुराना ऐतिहासिक गहना फिर्ता गराउन अमेरिकी सरकारका प्रतिनिधिसँग कूटनीतिक पहल सुरु भएको छ ।

काठमाडौं महानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोलले नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमबीच शिष्टाचार भेटका क्रममा गहना फिर्ता ल्याउन पहल सुरु गरेकी हुन् ।

डङ्गोलले भनिन्, “काठमाडौंबाट चोर गरी विदेशका सङ्ग्रहालयमा पुर्‍याइएका पुरातात्त्विक महत्त्व बोकेका वस्तु कानुनी र कूटनीतिक प्रक्रिया पूरा गरेर आफ्नै देशमा फर्काउने अभियानमा छौँ ।” कुराकानीका क्रममा कार्यवाहक राजदूत स्कट अर्बमले राखेको जिज्ञासामा डङ्गोलले विधिको पालना र मानव अधिकारप्रति पूर्ण प्रतिबद्ध रहँदै नागरिकको अपेक्षामा आधारित योजनालाई प्राथमिकता दिएको बताइन् ।

तलेजु भवानी (तुलजा भवानी) विशेषगरी नेवार समुदायकी इष्टदेवी तथा मल्लकालदेखिको शक्ति, शासन र समृद्धिको प्रतीक हुन् । उनलाई दैवी शक्ति वा मातृशक्तिका रूपमा पुजिन्छ ।

कर्नाटवंशी राजा हरिहरसिंह देवले १४औँ शताब्दीमा तलेजु भवानीलाई नेपाल भित्र्याएका थिए । त्यसपछिका मल्ल राजाले तलेजुलाई आफ्नो राज्यको प्रमुख संरक्षक र कुलदेवी मानेको इतिहासमा पढ्न पाइन्छ ।

नेवार समुदायमा तलेजु भवानीलाई तान्त्रिक विधिबाट पूजा गरिन्छ । तलेजु मन्दिरका पुजारीलाई कर्माचार्य भनिन्छ । तलेजु भवानीको पूजा परम्परा गोप्य हुन्छ । हनुमान ढोका, भक्तपुर र पाटनका तलेजु मन्दिर यहाँ प्रसिद्ध छन् । उक्त मन्दिर वर्षको एकपटक अर्थात् दसैँको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + twelve =