चर्चित नाटक ‘जिउँदो आकाश’ फेरि रङ्गमञ्चमा (तस्बिरहरू)

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको जीवन भोगाई, समाज सँगको सङ्घर्ष र अस्तित्वको कथालाई केन्द्रमा राखेर तयार गरिएको चर्चित नेपाली नाटक ‘जिउँदो आकाश’ लामो अन्तरालपछि पुनः रङ्गमञ्चमा फर्किएको छ।
साउन १ गतेदेखि नियमित मञ्चन हुने यस नाटकको बुधवार (असार ३१ गते) एक थिएटर नेपालमा प्रिमियर शो सम्पन्न भएको छ।
यो नाटक वि.सं.२०७३ जेठ २९ गते नेपाल सङ्गीत तथा नाट्य एकेडेमीको आयोजनामा भएको नाट्य महोत्सवमा दोलखाको चरिकोटमा पहिलो पटक मञ्चन भएको थियो। त्यसपछि काठमाडौँ, ललितपुर, पोखरा, झापालगायत नेपालका धेरै स्थानहरूमा ८६ पटकसम्म मञ्चन भयो।
नेपाल बाहिर भारतको दिल्ली र गुवाहाटीमा आयोजित अन्तर्राष्ट्रिय ओलम्पिक थिएटर फेस्टिभलमा समेत मञ्चन भएको यस नाटकले नेपाली रङ्गमञ्चमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको कथालाई केन्द्रमा राख्ने अग्रणी कृतिका रूपमा परिचय बनाएको छ।
नाटकको केन्द्रमा छिन् गरिमा, अर्थात् जन्मिँदा पुरुष शरीर पाएर पनि मन, स्वभाव र पहिचानले महिलाको जीवन बाँच्न खोज्ने एक लैङ्गिक अल्पसङ्ख्यक पात्र। जो जन्मँदा ‘गौरव’ भएर जन्मियतापनि प्रकृतिले गरिमा बनेकी ‘अभागी ‘ पात्र।
हरेक पल परिवार, विद्यालय र समाजबाट लगातार अस्वीकार, अपमान र हिंसा सहँदै आफ्नै अस्तित्वको खोजीमा अघि बढ्ने गरिमाको सङ्घर्षले दर्शकलाई सोच्न बाध्य बनाउँछ।
चन्द्र पाण्डेको लेखन तथा आर. के. मेहताको परिकल्पना एवं निर्देशनमा तयार भएको नाटकमा अनिल सुब्बाको सशक्त एकल अभिनय रहेको छ। यसभन्दा अघि मञ्चन हुँदा पनि यस नाटकमा अनिल सुब्बाले नै अभिनय गरेका थिए। एक पटक भने निर्देशक आर. के. मेहता कै अभिनय रहेको थियो।
संवेदनशील विषयलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको यस नाटकले मानवता, प्राकृतिक स्वीकार्यता र लैङ्गिक अल्पसङ्ख्यकहरूको स्वतन्त्र जीवन बाँच्ने अधिकारबारे गम्भीर प्रश्न उठाउँछ।
थापागाउँस्थित एक थिएटर नेपालको मञ्चमा साउन १ देखि १२ गतेसम्म बुधवार बाहेक हरेक साँझ ५:३० बजे नाटक मञ्चन हुनेछ भने शनिवार दिउँसो १:३० बजे अतिरिक्त शो पनि मञ्चन हुने छ।
तस्बिरहरू:-









