तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

सुनसरी । धरान उपमहानगरपालिका–८ स्थित तीनढ्वाङ्गे खहरेको किनारमा बस्दा हरिमाया सुनुवारको आँखा आज पनि रसाउँछ । पुल भत्किएको ठाउँतिर हेर्दै उनी श्रीमान् राम सुनुवारलाई सम्झिन्छन् ।

तीन वर्षअघि यही पुलबाट लडेर गम्भीर घाइते भएका उनका श्रीमान्को उपचारकै क्रममा मृत्यु भएको थियो । त्यसयता उनको परिवार ऋण, अभाव र पीडासँग जुधिरहेको छ । पुल भने अझै पुनर्निर्माण भएको छैन ।

विसं २०८० चैतमा निर्माण सम्पन्न भएको उक्त पुल पाँच महिना बित्न नपाउँदै साउन २२ गते राति आएको भीषण बाढीबाट भत्कियो । त्यस स्थानमा सरोकारवाला निकायले नयाँ पक्की पुल निर्माण गर्ने विषयमा समयमै चासो नदिँदा स्थानीयवासी अहिले पनि जोखिम मोलेर आवतजावत गर्न बाध्य छन् ।

घरको मूल सहारा नै गुम्यो, ‘हरिमाया भन्छिन्, ‘उपचार गर्दा लागेको ऋण अहिलेसम्म तिर्न सकेका छैनौँ । श्रीमान्को मृत्यु भएको केही समयपछि काम विशेषले इटहरी जाँदा जेठो छोरा पनि सुनसरीको तरहरामा दुर्घटनामा परी घाइते भए । अहिलेसम्म उसले राम्रोसँग काम गर्न सक्दैनन् । केही क्षतिपूर्ति वा राहत पाइन्छ कि भनेर वडा र नगरपालिका धाए, न राहत पाए, न त पुल नै बन्यो ।’

तीनढ्वाङ्गेको पुलबाट लडेर राम सुनुवारको ज्यान गयो भने मोटरसाइकल, स्कुटरलगायतका सवारीसाधन दुर्घटनामा १० जनाभन्दा बढी घाइते भइसकेका छन् । यही महिनामै पनि स्कुटर पुलबाट खस्दा दुई जना घाइते भए ।

त्यस घटनामा धनकुटा बेलहरा हर्कबहादुर राई दुवै खुट्टा भाँचिएर अहिले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् । उनीसँगै स्कुटरमा सवार धरान–१ का भीम राई भने उपचारपछि घर फर्किएका छन् ।

पुलको छेउबाट पैदल यात्रुका लागि अस्थायी फलामे पुल बनाइएको छ । तर मोटरसाइकल तथा अन्य सवारीसाधनले लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्छ । स्थानीयले पुल वारपार गर्न परेमा जोखिम मोलेर पुरानै बाटो प्रयोग गर्न बाध्य छन् ।

स्थानीय लीलामाया तामाङ भन्छिन्, ‘चुनावका बेला नेता पुल बनाइदिने वाचा गर्दै भोट माग्न आएका थिए । त्यही भएर पनि हामी कहिले पुल बन्ला भन्ने आशामा छौँ । बर्खा लागिसक्यो, खोलामा बाढी आउँछ तर पार गर्ने अर्को विकल्प केही छैन ।’

दुर्गापथ टोल विकास संस्थाका अध्यक्ष सुवास श्रेष्ठका अनुसार वि.सं २०१७ मा तत्कालीन ब्रिटिस घोपा क्याम्पसम्म आवतजावत सहज बनाउन निर्माण गरिएको पुल मदन भण्डारी राजमार्ग विस्तारका क्रममा नयाँ पुल नबनाई पुरानै पुलमाथि कालोपत्र गरिएकाले संरचना कमजोर बनेको र पछि भत्किएको हो ।

धरान बजारको फोहर पानी यही खहरेमा मिसिने भएकाले वर्षायाममा आउने भेलले करिब २०० भन्दा बढी घर बाढी र कटानको जोखिममा परेका छन् ।

वर्षायाम सुरु भइसकेकाले खहरेमा आउने बाढी थुनिएर बस्तीमा पस्न सक्ने खतरा पनि बढेको छ । पुल नहुँदा बिरामीलाई समयमै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याउन समेत समस्या झेल्नुपरेको छ ।

धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले पुल पुनर्निर्माणको प्रक्रिया अब छिट्टै सुरु गरिने भएकाले तत्कालका लागि अस्थायी रूपमा क्याबिन राखी कल्भर्टमार्फत पानी बगाउने योजना बनाइएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =