सञ्चार माध्यमको संख्या धेरै भयो, यसलाई व्यवस्थित गर्नुपर्छः उपनेता पराजुली

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय मामिला पत्रकारितालाई थप व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन न्युनतम मापदण्ड तय गरिनुपर्नेमा जोड दिएका छन् ।

सोमवार सञ्चारकर्मीहरूसँग आयोजित छलफलका क्रममा उनले यस्तो बताएका हुन् । पछिल्लो समय सञ्चारमाध्यमको संख्यामा भएको वृद्धिलाई दृष्टिगत गर्दै उपनेता पराजुलीले कार्यविधि (टीओआर) परिमार्जनको आवश्यकता औंल्याए ।

संसदीय मामिलामा रिपोर्टिङ गर्ने सञ्चारकर्मीहरूको भुमिकालाई प्रभावकारी बनाउन संसद सचिवालयसँग समन्वय गरी आवश्यक प्रशिक्षणको व्यवस्था गर्नुपर्नेमा उनले प्रतिवद्धता व्यक्त गरे । उपनेता पराजुलीले सांसद र सञ्चार जगत दुवैको जवाफदेहिता समान हुने उल्लेख गरे ।

उपनेता पराजुलीले भने, ‘पहिलेको अवस्थामा एक वा दुईवटा मात्र मिडिया थिए भने आज मिडियाको संख्या अत्याधिक बढेको छ । यसलाई व्यवस्थित बनाउने क्रममा टीओआर कसरी तयार गर्ने, त्यसमा कसरी सुधार गर्ने भन्ने विषय महत्त्वपूर्ण छ । त्यसैगरी, संसदीय मामिलामा भूमिका निर्वाह गर्ने सञ्चारकर्मी साथीहरूले अझ प्रभावकारी रूपमा काम गर्न सकून् भन्ने उद्देश्यले यहाँहरूले नै प्रशिक्षणको आवश्यकता औँल्याउनुभएको छ । यो वास्तवमै सोचनीय विषय हो।’

सञ्चार माध्यममाथि अंकुश लगाउन खोजिएको हो कि भन्ने जिज्ञासाको खण्डन गर्दै उनले प्रेस स्वतन्त्रताप्रति पार्टी प्रतिवद्ध रहेको प्रष्ट पारे । उपनेता पराजुलीले आगामी दिनमा कानून निर्माणको प्रक्रिया र संसदीय भूमिकामा सञ्चारकर्मीहरूसँग नजिक रहेर सहकार्य गर्ने प्रतिवद्धता समेत जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 4 =