मिडिया हाउसको गेट अगाडि सरकार स्वयंले गाडी पार्क गरेको हो: सांसद गुरुङ

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद गीता गुरुङले कान्तिपुर, अनलाइन खबर, हिमालयन टिभी लगायत मिडिया हाउसको गेट अगाडि सवारी आवागमन नै प्रभावित हुनेगरी सरकार स्वयंले गाडी पार्क गरेको आरोप लगाएकी छन् ।
प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको सोमवार सिंहदरबारमा बसेको बैठकमा बोल्दै सांसद गुरुङले यस्तो आरोप लगाएकी हुन् ।
उनले राज्यलाई जबाफदेही बनाउने तथा नागरिकका आवाज सार्वजनिक गर्ने सञ्चारमाध्यममाथि सरकारले शंकास्पद निगरानी राख्न खोजेको भन्दै त्यसको घोर निन्दा गरिन् । उनले मिडिया हाउस अगाडि गाडी पार्क गरेको विषयमा सत्यतथ्य बाहिर ल्याउन समेत समितिमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।
उनले भनिन् ‘मिडिया हाउसको अगाडि अहिले सरकारले निगरानी राख्नका निम्ति शंकास्पद रूपमा त्यहाँ गाडीहरू खडा गरिएको भनेर मैले न्युजमा देखेको छु । धेरै जनाबाट मैले यो जानकारी पनि पाएको छु । यसको वास्तविकता के हो ? राज्यलाई जबाफदेही बनाउन खोज्दा र जसरी सडकमा उठेका नागरिकहरूको आवाजलाई चाहिँ आम नागरिकको सामु ल्याउन खोज्दाखेरि यसरी मिडिया हाउसमाथि चाहिँ निगरानी राख्न जुन राज्यले खोजेको छ म यसको चाहिँ घोर निन्दा गर्दछु । यसको सत्यतथ्य के हो ? किन आज मिडिया हाउसको अगाडि राज्यले त्यसरी गाडीहरू पठाइरहेको छ, एक किसिमको निगरानी गरिरहेको छ, यो विषयमा चाहिँ समितिमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
सोमवार बिहान कान्तिपुर पब्लिकेसन, अनलाइनखबर र हिमालय टेलिभिजनलगायत सञ्चार संस्थाका कार्यालयको गेटमै सवारीसाधन तेर्स्याएर आवागमन प्रभावित बनाइएको थियो ।
यस घटनालाई घटनालाई लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमणको रूपमा विश्लेषण भइरहेको छ ।








