मिडिया अगाडि पार्किङ गरिएका शंकास्पद गाडीबारे रास्वपाको ध्यानाकर्षण, छानबिन गर्न माग

काठमाडौं । आज बिहानैदेखि विभिन्न सञ्चार माध्यममा राखिएका शंकास्पद गाडीप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ध्यानाकर्षण भएको जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै रास्वपाले आम सञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लंघन रहेको भन्दै रास्वपा सधैँ स्वतन्त्र पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिएको जनाएको छ ।

सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू रास्वपालाई स्वीकार्य नहुने जनाएको छ ।

यी घटनाहरूको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सम्पूर्ण सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र यस्ता गतिविधिमा संलग्न जोसुकै भए पनि तत्काल पहिचान गरी कानुन बमोजिम गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै रास्वपाले सम्पूर्ण सञ्चार जगत्‌लाई कुनै पनि दबाब र त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिताको आफ्नो व्यावसायिक धर्म निर्वाह गरिरहन अपिल गर्दै सञ्चारकर्मी एवं सञ्चार गृहहरूको सुरक्षा तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रास्वपा सदैव खडा रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =