निहारिका-बिनुको गुनासो: ‘कसैलाई राति १२ बजे भेट्ने, हामी मन्त्रालय आउँदा सुधन गुरुङलाई भेट्न नपाउने’

काठमाडौँ । सिंहदरबारस्थित गृह मन्त्रालय जान हिँडेका दुई महिलालाई प्रहरीले रोकेको छ ।
आफ्ना समस्या राख्ने योजनासहित पास लिएर आएका उनीहरूलाई प्रहरीले गेटमै रोकेको हो ।
उक्त महिलाहरू विगतमा ‘कुमारी आमा’ भनेर परिचित निहारिका राजपुत र ‘घरायसी हिंसा पीडित’ बिनु यादव रहेकी छन् । निहारिकाको साथमा नाबालक छोरा पनि छन् ।
‘भेट्न त पाउनुपर्यो नि, कसैलाई चाहिँ राति १२ बजे गएर भेट्नी । हामी मन्त्रालयमा आउँदा भेट्न नपाउने सुधन गुरुङलाई । हाम्रो छैन कोही पनि । यहाँबाट लास मात्रै उठ्छ ।’ बिनु यादवले भनिन् ।
विगतमा आरामले बसी रहँदा सरकारले माग सम्बोधन नगरेको भन्दै निहारिकाले आक्रोश व्यक्त गरिन् । उनले सडकमा हल्ला गर्यो भने मात्र सरकारले सुन्ने बताइन् ।
उनले भनिन् ‘जब जब हल्ला गर्छु, जब जब सडकमा आउँछु तब मात्र कुरा सुन्दिन्छ । यो भन्दा पहिले आरामले बसी रहेको थिए ।’
उनीहरूलाई रास्वपाकी एक महिला सांसदले सिंहदरबारको पास मिलाइदिएकी थिइन् ।
अहिले प्रहरीले उनीहरूलाई पक्राउ नगरी गेटबाट साइड मात्र लगाएको छ ।








