सरकार निरंकुश बन्दै गएको आरोप, यस्ता गतिविधि तत्काल बन्द गर्न चेतावनी 

काठमाडौं । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिग्राम जम्मरकट्टेलले वर्तमान सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका छन् ।

शनिबार काठमाडौंमा सातौं राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित कार्यसमिति सम्मान तथा व्यवसायी मजदुर सचेतना कार्यक्रममा बोल्दै उनले जनताले ठुलो आशा र भरोसाका साथ दुई–तिहाइको जनमत दिएपनि सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको दाबी गरेका हुन् ।

पूर्व मुख्यमन्त्री जम्मरकट्टेलले पुराना राजनीतिक शक्तिहरूले काम गर्न नसकेको भन्दै नयाँ परिवर्तनको आशमा जनताले मतदान गरेको स्मरण गराए । यद्यपि, वर्तमान सरकारको अवस्था निराशाजनक रहेको र यसले जनभावनाको कदर गर्न नसकेको उनले उल्लेख गरे । सरकारको आलोचना गर्दै उनले सरकार नागरिकलाई वर्ग विभाजन गर्ने, थिचोमिचो गर्ने, धम्काउने र थुन्ने जस्ता दमनकारी कानून निर्माणमा तल्लीन रहेको बताए ।

जिम्मेवार मन्त्रीहरूबाटै नागरिकको खुट्टा भाँचिदिने जस्ता धम्कीपूर्ण अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण रहेको उनले बताए । सुकुम्बासी व्यवस्थापनको सन्दर्भमा बोल्दै जम्मरकट्टेलले सरकारले उचित प्रक्रिया र विधिको पालना नगरेको बताए । उनले सुकुम्बासीहरूलाई जग्गाको पहिचान र लालपुर्जाको व्यवस्था नगरी जबरजस्ती हटाएको बताए ।

पूर्व मुख्यमन्त्री जम्मरकट्टेलले भने, ‘अहिले राजनीतिक अवस्था फेरिएको छ । जनताले दुई तिहाइको मत दिएर सरकारलाई पठाएका छन् । पुरानाले गरेनन्, अब नयाँले गर्छन् भन्ने विश्वासका साथ मत दिएका हुन् । तर सरकारको अवस्था राम्रो देखिँदैन । नेपाली जनताले जे सोचेर मतदान गरे, त्यसअनुसारको काम सरकारले गरेको देखिँदैन । आज वर्ग विभाजन गर्ने, थिचोमिचो गर्ने, धम्काउने, थुन्नेजस्ता कानुनहरू निर्माण गर्नेतर्फ सरकार लम्किरहेको छ ।’

सरकारले कानूनको कार्यान्वयन र विधिको शासन पालना गर्नुपर्नेमा जोड दिँदै पूर्व मुख्यमन्त्री जम्मरकट्टेलले जनतालाई तर्साउने र निरंकुश व्यवहार प्रदर्शन गर्ने कार्य सरकारका लागि शोभनीय नभएको बताए । सरकार जताततै निरंकुश बन्दै गएको भन्दै उनले यस्ता गतिविधि तत्काल बन्द गर्न चेतावनी समेत दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =