फिफा विश्वकप २०२६

आइतबार तय हुँदै सेमिफाइनलको अन्तिम समीकरण, अर्जेन्टिनाले जोगाउला त उपाधिको सपना?

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको उपाधि रक्षा चुनौतीपूर्ण

काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत क्वाटरफाइनलका अन्तिम दुई खेलहरू नेपाली समय अनुसार आइतबार बिहान हुँदै छन्। नर्वे र इङ्गल्यान्डबिचको खेल राति २:४५ बजे फ्लोरिडास्थित हार्ड रक स्टेडियममा हुनेछ। त्यसै गरी अर्को दोस्रो क्वार्टरफाइनल खेल डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र स्विट्जरल्यान्डबिच बिहान ६:४५ बजे क्यान्सस सिटीको एरोहेड स्टेडियममा प्रतिस्पर्धा हुनेछ।

क्वाटरफाइनलका अन्तिम दुई खेलहरू बाकी रहँदै गर्दा सेमिफाइनलको समीकरण लगभग स्पष्ट भइसकेको छ। दुई सेमिफाइनलमध्ये एउटा भिडन्तमा स्पेन र फ्रान्स आमनेसामने हुने निश्चित भइसकेको छ भने अर्को सेमिफाइनलका लागि नर्वे र इङ्गल्यान्ड तथा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र स्विट्जरल्यान्ड बिचको विजेता कुर्नु पर्ने छ।

उपाधि जोगाउने दबाबमा डिफेन्डिङ च्याम्पियन

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना यस पटक पनि उपाधिको प्रमुख दाबेदारका रूपमा हेरिएको छ। अनुभवी र युवा खेलाडीको सन्तुलित संयोजन, आक्रामक शैली र नकआउट चरणको अनुभव अर्जेन्टिनाको सबैभन्दा ठुलो बल हो। तर उपाधि जोगाउने यात्रामा अब प्रत्येक खेल ‘गर या मर’ को अवस्थामा पुगेको छ। स्विट्जरल्यान्ड अनुशासित र सङ्गठित टोलीका रूपमा परिचित छ। त्यसैले अर्जेन्टिनाले सेमिफाइनल पुग्न आफ्नो उत्कृष्ट प्रदर्शन दोहोर्‍याउनुपर्नेछ।

इङ्गल्यान्ड र नर्वे पनि उपाधिका दाबेदार

अर्कोतर्फ इङ्गल्यान्ड र नर्वेबिचको खेल पनि बराबरी प्रतिस्पर्धाको अपेक्षा गरिएको छ। इङ्गल्यान्ड बलियो टोली र आक्रामक फुटबलका कारण उपाधिको दाबेदार मानिन्छ भने नर्वेले युवा खेलाडीहरूको प्रभावशाली प्रदर्शनका कारण प्रतियोगितामा सबैको ध्यान तानेको छ। यी दुईमध्ये विजयी टोलीले सेमिफाइनलमा अर्जेन्टिना वा स्विट्जरल्यान्डमध्ये एकको सामना गर्नेछ।

विश्व फुटबल समर्थकको चासो अहिले एउटै प्रश्नमा केन्द्रित छ—के डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले आफ्नो उपाधि जोगाउने अभियानलाई निरन्तरता दिन सक्ला, वा स्विट्जरल्यान्डले अर्को ठुलो उलटफेर गर्दै विश्वकपमा नयाँ इतिहास रच्ला? त्यस्तै, इङ्गल्यान्ड र नर्वेमध्ये कसले अन्तिम चारमा स्थान बनाउनेछ भन्ने उत्तर पनि आइतबार राति र सोमबार बिहान हुने यी दुई रोमाञ्चक क्वार्टरफाइनलले दिनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 18 =