कामपाले गणेश नेपालीको परिवारलाई मानवीय सहयोग, रोजगारी र सन्तानलाई निःशुल्क शिक्षा दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारलाई मानवीय सहयोग, रोजगारी र सन्तानलाई निःशुल्क शिक्षा दिने भएको छ ।

महानगरले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेको हो । महानगरले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै यो संवेदनशील घडीमा सबैलाई संयमित रहन र धैर्य धारण गर्न अपिल समेत गरेको छ ।

यस घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले छानबिन समिति गठन गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको र महानगरले उक्त समितिलाई तथ्यगत छानबिनमा पूर्ण रूपमा सहयोग गर्ने महानगरपालिकाका प्रवक्ता नबिन मानन्धरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै महानगरले यस्ता दुखद् घटना भविष्यमा दोहोरिन नदिन नेपाल सरकारसँगको समन्वय र सहकार्यमा समाधानका उपाय पहिचान गरी असल अभ्यास कार्यान्वयनमा लैजान महानगर तयार रहेको जनाएको छ ।

नेपालीका परिवारलाई काठमाडौं महानगरपालिकाको तर्फबाट मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निःशुल्क शिक्षा दिने सम्बन्धमा कार्यपालिकाको बैठकबाट निर्णय गरिने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − thirteen =