सरकार र पार्टी जोगाउन मान्छेको ज्यानभन्दा भारी तर्क नगरौँ: गणेश कार्की

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले नियमभन्दा मानिसको जीवन र अधिकारलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
कार्कीले नियम मानिसका लागि बनेको उल्लेख गर्दै नियमका कारण मानिसलाई असहज अवस्था सिर्जना हुने वा जीवन नै जोखिममा पर्ने अवस्था आए त्यसको पुनरावलोकन आवश्यक हुने बताएका छन् ।
‘नियम मान्दा मान्छेलाई गाह्रो हुन्छ भने, नियम मान्नु भन्दा मर्न सजिलो हुन्छ भने, या त नियम पुनरावलोकन गरिनु पर्छ, या त नियमका बारेमा मान्छेलाई बुझाउन अझ बढी मिहिनेत गर्नु पर्छ,’ उनले लेखेका छन् ।
कार्कीले मानिस र नियममध्ये छनोट गर्नुपर्ने बहस नै उचित नभएको उल्लेख गर्दै आफूले भने मानिसलाई रोज्ने बताएका छन् । ‘मान्छे र नियममध्ये कुन रोज्ने भनेर कसैले प्रश्न गर्छ भने त्यो मूर्खता हो। र पनि जवाफ दिनु पर्छ भने म मान्छे रोज्छु,’ उनले भनेका छन् ।
उनले सरकार र रास्वपाका समर्थकलाई सरकार वा पार्टीको बचाउ गर्ने नाममा मानवीय संवेदनाभन्दा माथि तर्क नगर्न पनि आग्रह गरेका छन् । ‘प्रिय रास्वपाका र सरकारका समर्थकहरू, सरकार र पार्टी जोगाउन मान्छेको ज्यानभन्दा भारी तर्क नगरौँ,’ उनले लेखेका छन् ।
साथै, नेपालमा दैनिक औसत १८ जनाले आत्महत्या गर्ने उल्लेख गर्दै उनले आत्महत्याका कारण मानसिक स्वास्थ्य समस्या वा आवेग हुने बताए । यी दुवै अवस्थालाई कम गर्न सकिने भन्दै मानसिक स्वास्थ्यका विषयमा खुला छलफल, सचेतना र जानकारी आदानप्रदानमा जोड दिएका छन् ।
‘समय पाउनु भयो भने दिनमा १८ जनाले आत्महत्या गर्ने देश हो हाम्रो भन्ने बुझ्नु होला । आत्महत्याको कारण या त मानसिक समस्या हुन्छ, या त आवेग हुन्छ । दुवै कम गर्न सकिन्छ। त्योबारेमा कुरा गरौँ, जानकारी बाँडौँ,’ उनले लेखेका छन् ।








