काठमाडौँ महानगरपालिकाको अधिवेशन सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ । गत जेठ ३१ गते सुरु भएको उक्त अधिवेशन आजको छैटौँ बैठकसँगै सकिएको हो ।

बैठकमा नगरसभाको चौथो र पाँचौँ बैठकमा पेस भएका संशोधन विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल भएको थियो । सो क्रममा विधायन समितिका सदस्य हुमादेवी आचार्यले विद्यमान कानुनमा समसामयिक संशोधनसम्बन्धी विधेयकका प्रस्तावित व्यवस्था पेश गरेका थिइन् ।

पेश गरिएका विषयमाथि नगरसभा सदस्यहरू विमलकुमार होडा, सन्तोष ढुङ्गेल, मचाराजा महर्जन, सुरेश मानन्धर र रोजिना श्रेष्ठले धारणा राखेका थिए । बैठकमा व्यक्त धारणा, लिखित संशोधन प्रस्तावलाई समेटेर सभाका अध्यक्ष एवं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सभामा निर्णयार्थ पेश गरिन् ।

ती विधेयकसँगै सभाको पाँचौँ बैठकमा पेश भएका न्यायिक समिति, लेखा समिति र सुशासन समितिको वार्षिक प्रतिवेदनमाथि सभाका सदस्यले दिएको सुझाव समेटेर निर्णयका लागि पेश भएका थिए । पेस भएका प्रस्ताव सर्वसम्मत पारित भएपछि सभाध्यक्ष डङ्गोलले नगरसभाको बैठक सम्पन्न भएको घोषणा गरिन् ।

उनले स्वीकृत कार्यक्रमको सफल कार्यान्वयनबाट मतदाता, महानगरवासी र राजधानी सहर आश्रितको हित, उपयोग र सुरक्षाको प्रत्याभूति हुनेगरी काम गर्न सम्बद्ध सबैलाई आग्रह गरिन् । बैठकमा कार्यवाहक प्रमुख डङ्गोलले आर्थिक वर्ष २०८३/८४ का लागि ११ क्षेत्रका १०१ बुँदामा नीति प्रस्ताव गरेकी थिइन् ।

उक्त प्रस्ताव यही असार १ गतेको अधिवेशनको दोस्रो बैठकले सर्वसम्मत पारित गरेको थियो । यस्तै, असार ४ गतेको तेस्रो बैठकमा कार्यवाहक प्रमुख डङ्गोलले आव २०८३/८४ का लागि काठमाडौँ महानगरपालिकाको रु २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार बजेट प्रस्ताव पेश गरेकी थिइन् । सोही बैठकमा उनले आव २०८३/८४ का लागि आर्थिक विधेयक तथा विनियोजन विधेयक पेश गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 18 =