नेपाल छिट्टै केरा, आलु र माछा उत्पादनमा आत्मनिर्भर बन्छ: निर्देशक श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका निर्देशक हिक्मतकुमार श्रेष्ठले नेपाल छिट्टै केरा, आलु र माछा उत्पादनमा आत्मनिर्भर बन्ने दाबी गरेका छन् ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले कार्यक्रम सञ्चालनमा हालसम्म ३६ अर्ब ३९ करोड रुपैयाँ खर्च भएको र चारवटै विभाग वित्तीय प्रगति ७८ प्रतिशत पुगेको जानकारी दिए ।

उनकाअनुसार जोन र सुपर जोनमा ८० प्रतिशत खर्च भएको छ भने पकेट र ब्लक सम्भागसहितको वित्तीय प्रगति ७८ प्रतिशत रहेको छ । उनले कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत भूमिको वैज्ञानिक उपयोग, आधुनिक कृषि प्रविधिको अवलम्बन, कृषि अनुसन्धान, शिक्षा तथा प्रसार प्रणाली सुदृढीकरण, यान्त्रीकरण, प्रशोधन, बजारीकरण, गुण नियन्त्रण र वातावरणमैत्री कार्यक्रमलाई प्राथमिकता दिइएको बताए ।

निर्देशक श्रेष्ठले राष्ट्रिय उत्पादनमा कार्यक्रमको उल्लेखनीय योगदान रहेको दाबी समेत गरे । उनले धान, गहुँ, मकै, तरकारी र आलु उत्पादनमा करिब १० प्रतिशत तथा सुन्तला, जुनार, स्याउ, ओखर, माछा र अलैँचीजस्ता बाली तथा उत्पादनमा ५० प्रतिशतभन्दा बढी क्षेत्रफलमा र उत्पादनमा योगदान रहेको दाबी गरे ।

उनले कृषि यान्त्रीकरणमा किसानको लागत सहभागिता ३५ प्रतिशतसम्म घटाउन सफल भएको दाबी समेत गरे ।

उनले भने ‘कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालन गर्नको लागि भूमिको वैज्ञानिक उपयोग, आधुनिक कृषि प्रविधिहरूको अवलम्बन, कृषि अनुसन्धान, शिक्षा, प्रसार प्रणालीको सुदृढीकरण, यान्त्रीकरण, प्रशोधन र बजारीकरण, प्रतिफलमा आधारित प्रोत्साहन, गुण नियन्त्रण, खाद्य स्वच्छता अभिवृद्धि र वातावरण मैत्री कार्यक्रमहरू गर्ने रणनीतिहरू लिइएको थियो । हामीले अहिले सम्म ९औँ वर्षको प्रगति हामीले ३६ अर्ब ३९ करोड खर्च गरिसकेको अवस्था छ । हालसम्म चारवटै सम्भागको प्रगति ७८ प्रतिशत रहेको छ । जोन र सुपरजोनमा ८० प्रतिशत हाराहारीमा खर्च भएको छ भने समग्रमा ७८ प्रतिशत खर्च भएको छ । कार्यक्रममा खर्चको स्थिति सन्तोषजनक रहेको छ । राष्ट्रिय उत्पादनमा परियोजनाको हिस्सालाई देखाउन खोजिएको छ । धान, गहुँ, मकै, तरकारी, आलु लगायतका बालीहरूमा करिब १० प्रतिशतको योगदान रहेको छ भने मैले अघि भनेका सुन्तला, जुनार, स्याउ, ओखर लगायतका माछा, अलैँची लगायतका बालीहरूमा ५० प्रतिशत भन्दाबढी क्षेत्रफलमा र उत्पादनमा योगदान रहेको रहेको छ । त्यसैगरी यान्त्रीकरणमा ३५ प्रतिशत लागत सहभागिता न्यूनीकरण गर्ने प्रयास भएको छ । यो एकदमै सकारात्मक कुरा हो । उपलब्धिहरूको सन्दर्भमा हामीले विभिन्न बालीहरूमा कृषि प्रविधिको अवलम्बन, भूमिको वैज्ञानिक उपयोगमा चक्लाबन्दी, प्रविधि अवलम्बनमा हाई डेन्सिटी, यो लाइभस्टकमा नश्ल सुधारको कार्यक्रम, साना सिँचाइहरूमा मिस्ट इरिगेशन सहितको थोपा सिँचाइ सहितका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ ।’

उनले विश्वविद्यालयहरूलाई समेत कृषि आधुनिकीकरण कार्यक्रममा जोडेर स्थानीयस्तरमा कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eighteen =