स्पष्ट प्राथमिकता बिनाको संविधान संशोधनले अस्थिरता र ध्रुवीकरण निम्त्याउँछः सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले स्पष्ट प्राथमिकता र निश्चित समस्याको पहिचान नगरी संविधान संशोधनको प्रक्रिया अघि बढाउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।
बिहीवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक विचार गोष्ठीमा बोल्दै सभापति थापाले सरकारद्वारा गठित कार्यदलको प्रक्रिया, कार्यविधि र नेतृत्वमाथि प्रश्न उठाएका हुन् । उनले संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि, सशस्त्र द्वन्द्वको पीडा र हजारौँ नागरिकको बलिदानबाट प्राप्त उपलब्धिका संवेदनाहरूलाई बिर्सिएर संशोधनको विषयमा प्रवेश गर्न खोजिएको टिप्पणी गरे ।
सभापति थापाले सरकारले कुन विशिष्ट समस्या समाधानका लागि संशोधन गर्न खोजेको हो भन्ने कुरा स्पष्ट नभएको उल्लेख गरे । संविधानको समग्र अन्तर्वस्तुलाई एकै पटक बहसको विषय बनाउँदा अप्रत्याशित संवैधानिक र कानुनी जटिलता उत्पन्न हुनुका साथै चरम दलीय ध्रुवीकरण निम्तिने उनको तर्क छ ।
उनले भने, ‘नेपाल कुन राजनीतिक द्वन्द्वबाट गुज्रेर यहाँसम्म आएको हो र संविधान सभाले कसरी संविधान बनाएको हो भन्ने तथ्यलाई नजरअन्दाज गर्न मिल्दैन । १७–१८ हजार मानिस मारिएको विषयलाई हामीले एक हरफमा सीमित गरिदिए पनि प्रत्येक मृतकको कथा र परिवारको संवेदना जोडिएको छ । ती सबै कुरालाई बिर्सिएर हठात् संविधान संशोधनमा प्रवेश गर्न खोज्नु चिन्ताजनक छ । संविधान संशोधनको ढोका हचुवाका भरमा खोलिँदा यसले समाज र भूगोललाई जोडेर राख्ने मूल आधारहरू भत्काउन सक्छ र समग्र शासन व्यवस्थालाई नै अस्थिर बनाइदिन सक्छ । सरकारले प्राथमिकता निर्धारण नगरी अघि बढ्दा यस्तो जोखिम देखिन्छ ।’
उनले काँग्रेसले संविधान संशोधनको विषयमा गम्भीर र जिम्मेवार बहसको आवश्यकता रहेको भन्दै यस प्रक्रियाले मुलुकको राजनीतिक स्थिरतालाई खलबल्याउन नहुनेमा जोड दिए ।








