एक संवेदनशील यौनकर्मीको कथा: शिल्पीमा साउन १३ देखि ‘मिस मेनुका’

काठमाडौँ। नेपाली समाजमा व्याप्त विभेद, अन्याय, भ्रष्टाचार र शक्तिको दुरुपयोगलाई एक यौनकर्मीको जीवन कथामार्फत उजागर गर्ने नाटक ‘मिस मेनुका: एक संवेदनशील यौनकर्मी’ आगामी साउन १३ गतेदेखि काठमाडौँको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने भएको छ।

सामाजिक सरोकारका विषयलाई रङ्गमञ्चमार्फत निरन्तर उठाउँदै आएको शिल्पी कला समूहले यस पटक विश्व प्रसिद्ध फ्रान्सेली दार्शनिक तथा नाटककार झाँ–पल सार्त्रको चर्चित नाटक ‘द रेस्पेक्टफुल प्रोस्टिच्युट’ (La Putain Respectueuse) लाई नेपाली परिवेश अनुकूल रूपान्तरण गरी दर्शकमाझ ल्याउन लागेको हो।

फ्रान्सेली साहित्यको कालजयी कृतिलाई लेखिका कल्पना घिमिरे ‘नुरिस्साँ’ले नेपाली समाज सुहाउँदो गरी रूपान्तरण गरेकी हुन् भने नाटकको निर्देशन रङ्गकर्मी पवित्रा खड्काले गरेकी छन्। नाटक साउन १३ देखि भदौ ६ गतेसम्म शिल्पी थिएटरमा नियमित मञ्चन हुनेछ।

नाटकले लैङ्गिक, सामाजिक, सांस्कृतिक तथा साम्प्रदायिक विभेदसँगै भ्रष्टाचार, शक्तिको दुरुपयोग र न्यायको खोजीलाई केन्द्रमा राखेको छ। मुख्य पात्र एक यौनकर्मी हुन्, जसले दबाब, धम्की र विभिन्न प्रलोभनका बिच सत्यको पक्षमा उभिने वा सम्झौता गर्ने भन्ने कठिन निर्णयको सामना गर्छिन्। यही सङ्घर्षमार्फत शक्तिशाली वर्गले आफ्नो स्वार्थका लागि कमजोर समुदायलाई कसरी प्रयोग र उत्पीडन गर्छ भन्ने यथार्थलाई नाटकले प्रस्तुत गर्नेछ।

निर्देशक खड्काका अनुसार नाटकले मनोरञ्जनसँगै दर्शकलाई न्याय, स्वतन्त्रता, मानव अधिकार र सामाजिक उत्तरदायित्वका विषयमा गम्भीर रूपमा सोच्न प्रेरित गर्ने उद्देश्य राखेको छ। कथावस्तु र संवादमार्फत अन्यायविरुद्ध प्रश्न उठाउने तथा उत्पीडित समुदायप्रति संवेदनशील बन्न प्रेरणा दिने उनको विश्वास छ।

समाजमा विभेद र अन्यायका स्वरूप बदलिँदै गए पनि तिनका विरुद्धको सङ्घर्ष अझै जारी रहेकाले ‘मिस मेनुका’ आजको समयका लागि पनि उत्तिकै सान्दर्भिक रहेको शिल्पी कला समूहले जनाएको छ। विभेदमुक्त समाज निर्माणका पक्षमा बहस सिर्जना गर्ने उद्देश्यसहित नाटक शिल्पी थिएटरमा मञ्चन गरिनेछ।

नाटकमा कलाकारहरू सरिता गिरी, प्रभाकर देव शर्मा, घिमिरे युवराज, गोविन्द ओली, रुपेश मण्डल र धनराज सुनारको अभिनय रहेको छ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 7 =