विश्वकप फाइनलमा जस्टिन बिबर, शाकिरालगायत विश्व प्रसिद्ध कलाकारको प्रस्तुति
फिफा विश्वकपको इतिहासमै पहिलो पटक हाफटाइम साङ्गीतिक कार्यक्रम, खेलसँगै मनोरञ्जनको नयाँ आयाम थपिँदै

काठमाडौँ। फिफा विश्वकप २०२६ को फाइनल खेल केवल फुटबलको रोमाञ्चक प्रतिस्पर्धामा मात्र सीमित रहने छैन। विश्व प्रसिद्ध कलाकारहरूको साङ्गीतिक प्रस्तुतिसमेत रहने भएपछि यस पटकको फाइनल खेल, खेल र मनोरञ्जनको अनुपम सङ्गम बन्ने भएको छ।
विश्व प्रसिद्ध क्यानेडेली पप गायक जस्टिन बिबरले विश्वकप फाइनलको हाफटाइम साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिने भएका छन्। फिफाले विश्वकप फाइनललाई अझ भव्य र आकर्षक बनाउन इतिहासमै पहिलो पटक हाफटाइम (मध्य विराम) कार्यक्रम आयोजना गर्न लागेको हो।
आगामी जुलाई १९ मा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ रङ्गशालामा हुने फाइनल खेलको मध्य विराममा करिब ११ मिनेटको विशेष साङ्गीतिक कार्यक्रम सञ्चालन हुनेछ। यस कार्यक्रममा जस्टिन बिबरसँगै शाकिरा, बीटीएस बर्ना ब्वायलगायत विश्व प्रसिद्ध कलाकारहरूको प्रस्तुति रहनेछ। कार्यक्रमको कलात्मक संयोजन बेलायती रक ब्यान्ड कोल्डप्लेका मुख्य गायक क्रिस मार्टिनले गरिरहेका छन्।
अमेरिकी फुटबलको लोकप्रिय प्रतियोगिता ‘सुपर बाउल’को हाफटाइम कार्यक्रमबाट प्रेरित यो प्रस्तुति विश्वकपको इतिहासमै पहिलो हुनेछ। फुटबल र सङ्गीतलाई एउटै मञ्चमा प्रस्तुत गर्दै विश्वभरका करोडौँ दर्शकलाई नयाँ अनुभव दिने फिफाको विश्वास छ।
यो विशेष कार्यक्रम फिफा र ‘ग्लोबल सिटिजन’को सहकार्यमा आयोजना गरिनेछ। कार्यक्रममार्फत विश्वभरका बालबालिकाको शिक्षा, फुटबलको विकास तथा सामाजिक अभियानका लागि सहयोग जुटाउने उद्देश्यसमेत राखिएको जनाइएको छ।
फिफा विश्वकप २०२६ अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरिरहेका छन्। जुलाई १९ मा हुने फाइनल खेलसँगै पहिलो पटक समावेश गरिएको हाफटाइम साङ्गीतिक कार्यक्रम विश्व फुटबल इतिहासकै अर्को स्मरणीय अध्याय बन्ने अपेक्षा गरिएको छ।








