राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नुपर्छ: सांसद हमाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा संसदीय दलका तर्फबाट आफ्नो धारणा राख्दै उनले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता र मौलिक अधिकारलाई सुदृढ बनाउन संविधान संशोधन गर्न सकिने बताए ।

सांसद हमालले संविधान संशोधनसम्बन्धी बहस नोट तयार गर्न गठित कार्यदलबाट आफ्नो पार्टी अलग भएको सदनलाई जानकारी गराए । यद्यपि उनले आफूहरु संविधान संशोधनसम्बन्धी आधारभूत विषयमा असहमत नरहेको स्पष्ट गरे ।

राज्य सत्ता सञ्चालन, कानुन निर्माण, सङ्घीयताको सुदृढीकरणलगायत विषयमा संशोधन गर्न सकिने बताउँदै त्यसका निमित्त राष्ट्रिय सहमतिको आवश्यकता भएकामा उनको जोड थियो ।

लोकतन्त्रका संरचनामाथि बन्देज लगाउन हुनेमा जोड दिँदै सांसद हमालले विद्यार्थी सङ्गठन र कर्मचारी ट्रेड युनियनलाई खारेज गर्ननहुने तथा सरकारले तत्कालको आवश्यकता संशोधन गर्न अध्यादेश ल्याउन पाउने संवैधानिक व्यवस्था भए पनि संसद् छलेर अध्यादेश जारी गर्ने परम्पराले संसदीय अभ्यास कमजोर हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eight =