उजुरीकर्ता र प्रस्तावित व्यक्तिसँगको छलफल एउटै दिन गरौँ- कविन्द्र बुर्लाकोटी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले संसदीय सुनुवाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन प्रस्तावित व्यक्ति र उजुरीकर्ताबीचको छलफल एकै दिन गर्न प्रस्ताव गरेका छन् ।
प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ सम्बन्धी छलफल गर्न बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
अघिल्लो संसदीय सुनुवाइको अनुभव उल्लेख गर्दै उनले उजुरीकर्तासँगको छलफल र प्रस्तावित व्यक्तिसँगको प्रश्नोत्तर एउटै दिन सञ्चालन गर्दा प्रक्रिया बढी प्रभावकारी हुने बताए । यसो गर्दा उजुरीका विषयवस्तु पुनः सम्झिरहनु नपर्ने र छलफल थप व्यवस्थित हुने उनको भनाइ थियो । उनले आवश्यक परेमा त्यसपछिका निर्णयका लागि छुट्टै बैठक राख्न सकिने बताए ।
उनले भने ‘अघिल्लो सुनुवाइबाट मेरो अनुभवमा हामीले उजुरीकर्तासँग गर्ने भेटघाट, छलफल र सम्बन्धित प्रस्तावित व्यक्तिसँग गर्ने चाहिँ एकै दिनगर्दा त्यो प्रभावकारी हुँदो रहेछ । किनभने हामीले के लेखेको थियो, के उजुरी थियो भनेर सम्झिराख्नु परेन । उजुरीकर्तासँगको छलफल र प्रस्तावित व्यक्तिसँगको छलफल एकै दिन प्रभावकारी रूपले गरौँ । आवश्यक परेमा फेरिपछि अर्को बैठकमा छलफल गरेर निर्णय गर्न पनि सकिएला । तर उजुरीकर्ता र प्रस्तावित व्यक्तिको छलफल चाहिँ एकै दिन प्रभावकारी रूपले गरौँ भन्ने प्रस्ताव राख्न चाहन्छु ।’
उनले समितिको बैठक भर्चुअल माध्यमबाट सञ्चालन गर्न गर्न आग्रह गरे । भर्चुअल बैठक सञ्चालन गरिएमा समयको बचत हुने, सदस्यहरूले घरबाटै आवश्यक अध्ययन गरेर बैठकमा सहभागी हुन सहज हुने उनको भनाई छ । उनले बैठकका लागि आवश्यक कागजात पनि डिजिटल प्रतिमार्फत उपलब्ध गराउनुपर्नेमा जोड दिए ।








