हास्यव्यङ्ग्यात्मक चलचित्र ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त

काठमाडौँ । होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको पूर्णतया हास्यव्यङ्ग्यात्मक नेपाली कथानक चलचित्र ‘तिरिमिरी झ्याइँ’को एक कार्यक्रमका बीच शुभ मुहूर्त गरिएको छ ।
वैदिक विधिअनुसार पूजाआजा गर्दै निर्माण टोली, कलाकार र सञ्चारकर्मीहरूको उपस्थितिमा चलचित्रको औपचारिक शुभारम्भ गरिएको हो । मुहूर्त शटसँगै चलचित्रको निर्माण यात्रा विधिवत् रूपमा अगाडि बढेको छ । चलचित्रको छायाङ्कन यही असार २९ गतेबाट सुरु हुने बताइएको छ ।
आभास अधिकारीको कथा तथा कन्सेप्टमा तयार हुन लागेको यस चलचित्रलाई समीरले निर्देशन गर्दैछन् । मुहूर्त कार्यक्रममा बोल्दै निर्देशक समीरले यो चलचित्रले दर्शकलाई सुरुदेखि अन्त्यसम्म हँसाउने र विशुद्ध हास्यव्यङ्ग्यको भरपुर मनोरञ्जन पस्कने विश्वास व्यक्त गरे ।
त्यस्तै, चलचित्रका निर्माता प्रद्युम्न बोगटी (प्रबिन) ले एउटा उत्कृष्ट पारिवारिक कमेडी फिल्म बनाउने उद्देश्यका साथ अगाडि बढेको बताउँदै सम्पूर्ण टिमको मिहिनेतले दर्शकको मन जित्नेमा आफू विश्वस्त रहेको धारणा राखे । कथाकारसमेत रहेका कार्यकारी निर्माता आभास अधिकारीले आफ्नै समाजका रमाइला र ठट्यौली घटनाक्रमलाई पर्दामा उतार्ने प्रयास गरिएको प्रस्ट्याए ।
यस चलचित्रबाट ‘दले दाइ’ नामबाट चर्चित कमेडियन सुमन कोइरालाले अभिनयमा डेब्यू गर्दैछन् । उनका साथमा दिग्गज अभिनेता धिरेन शाक्यसहित आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, पुष्कर खतिवडा, राजश्री थापा, घनश्याम जोशीलगायतका कलाकारहरूको मुख्य अभिनय रहनेछ ।
यसै गरी सह–निर्माताको रूपमा भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, पुष्कर खतिवडा, दिनेश श्रेष्ठ र अनिल शर्मा जोडिएका छन् ।
यसमा विशाल कक्षपतिको छायाङ्कन रहनेछ भने अभिषेक कार्की सङ्गीतकार हुन् । गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा पटकथा तथा संवाद तयार पारेका हुन् । यसमा करणबहादुर साउद मुख्य सहायक निर्देशक, निर्मल न्यौपाने प्रोडक्सन म्यानेजर र रबिन काजी शाक्य प्रोडक्सन डिजाइनरका रूपमा रहेका छन् ।
त्यसै गरी चलचित्रमा प्रदीप लामा र सियोन श्रेष्ठको कोरियोग्राफी, रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) को पोस्टर तथा पब्लिसिटी डिजाइन, दिलमाया रोकाको मेकअप, अप्सरा कुँवरको हेयर स्टायल र रीजुन प्रधानको कस्ट्युम डिजाइन रहनेछ ।
सञ्चारकर्मीहरूसँगको अन्तरक्रियासहित सम्पन्न मुहूर्त कार्यक्रममा निर्माण पक्ष र कलाकारहरूले चलचित्रको सफल यात्राका लागि उच्च उत्साह र आत्मविश्वास देखाएका छन् ।








