फोनपेले सार्वजनिक गर्‍यो ‘चेकआउट बाइ फोनपे’, पहिलो मर्चेन्टको रूपमा फास्टोमा सेवा सुरु

काठमाडौँ । फोनपेले ‘Checkout by Fonepay’ नामक नयाँ अनलाइन भुक्तानी समाधान सार्वजनिक गरेको छ ।

मोबाइल एप तथा वेबसाइटमार्फत किनमेल गर्ने ग्राहकहरूका लागि इ–कमर्स भुक्तानीलाई अझ छिटो, सहज र सुविधाजनक बनाउने उद्देश्यले यो समाधान विकास गरिएको कम्पनीले जानकारी दिएको छ ।

इ–कमर्सको विस्तारसँगै ग्राहकहरूले भुक्तानी प्रक्रिया पनि किनमेल अनुभव जत्तिकै सहज हुने अपेक्षा कम्पनीले गरेको छ । तर, परम्परागत अनलाइन भुक्तानी प्रक्रियामा ग्राहकले एउटा एपबाट अर्को एपमा जानुपर्ने, पटक–पटक लगइन विवरण प्रविष्ट गर्नुपर्ने, ओटिपि प्रमाणीकरण तथा भुक्तानी पुष्टि हुन पर्खनुपर्ने र पुनः व्यापारीको प्लेटफर्ममा फर्केर खरिद प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

यी अतिरिक्त चरणहरूले चेकआउट प्रक्रियामा अवरोध सिर्जना गर्दै ढिलाइ, बीचमै रोकिएका कारोबार तथा अधुरा खरिदहरू निम्त्याउने गरेका छन् ।

कम्पनीका अनुसार विश्वव्यापी रूपमा करिब ७० प्रतिशत अनलाइन किनमेलका कार्टहरू अन्तिम भुक्तानी नगरी नै छोडिने गरेका छन्, जसको प्रमुख कारणमध्ये लामो वा जटिल चेकआउट प्रक्रिया पनि एक हो । भुक्तानी प्रक्रियालाई सरल बनाएर Checkout by Fonepay ले इ–कमर्सका प्रमुख चुनौतीहरूमध्ये एकलाई समाधान गर्ने तथा व्यापारीहरूलाई रूपान्तरण दर र ग्राहक सन्तुष्टि बढाउन सहयोग गर्ने लक्ष्य राखेको छ ।

Checkout by Fonepay मार्फत ग्राहकहरूले व्यापारीको चेकआउट प्रक्रियामै सहज रूपमा भुक्तानी गर्न सक्नेछन्, जसले अनावश्यक चरणहरू हटाई अनलाइन भुक्तानीलाई अझ छिटो र सुविधाजनक बनाउँछ । साथै, यसले व्यापारीहरूलाई चेकआउट प्रक्रियामा हुने अवरोध घटाउन, सफल भुक्तानीको दर बढाउन तथा ग्राहकलाई अझ उत्कृष्ट अनुभव प्रदान गर्न मद्दत गर्ने बताइएको छ ।

हाल Checkout by Fonepay कृषि विकास बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, गरिमा विकास बैंक, कुमारी विकास बैंक, लक्ष्मी सनराइज बैंक, मञ्जुश्री फाइनान्स, मुक्तिनाथ विकास बैंक, नबिल बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) र सानिमा बैंकसहित ११ वटा वित्तीय संस्थाका मोबाइल बैंकिङ एपहरू मार्फत उपलब्ध छ ।

आगामी महिनाहरूमा थप बैंक, वित्तीय संस्था तथा व्यापारी प्लेटफर्महरूलाई पनि यस सेवामा आबद्ध गरिने बताइएको छ ।

यस अवसरमा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार ले भने, ‘इ–कमर्सको विस्तारसँगै भुक्तानी प्रक्रिया पनि किनमेल अनुभव जत्तिकै सहज हुनुपर्छ । Checkout by Fonepay अनलाइन भुक्तानीमा हुने झन्झट हटाउन तयार गरिएको हो, जसले ग्राहकका लागि कारोबारलाई अझ छिटो र सहज बनाउनुका साथै व्यापारीहरूलाई उत्कृष्ट चेकआउट अनुभव प्रदान गर्न सहयोग गर्छ । छिटो डेलिभरीको पहिचान बनाएको फास्टो सँग यो समाधान सुरु गर्न पाउँदा हामी खुसी छौँ, किनकि यसको अवधारणा पनि हाम्रो छिटो र सहज चेकआउट अनुभव प्रदान गर्ने लक्ष्यसँग मेल खान्छ ।’

पहिलो मर्चेन्ट एकीकरणका रूपमा Checkout by Fonepay अब फास्टो मा उपलब्ध छ, जसले ग्राहकहरूलाई अनलाइन अर्डर गर्दा अझ छिटो र सहज भुक्तानी अनुभव प्रदान गर्नेछ । अब ग्राहकहरूले चेकआउट प्रक्रियामै Checkout by Fonepay मार्फत सिधै भुक्तानी गर्न सक्नेछन्, जसले अनावश्यक अवरोध हटाई अर्डर गर्ने प्रक्रियालाई पहिलेभन्दा अझ छिटो बनाउनेछ ।

यस सेवाको सुरुवातको अवसरमा फोनपेले फास्टो सँगको सहकार्यमा ‘What the FAST! – Fatafat Order. Fatafat Checkout’ नामक विशेष उपभोक्ता अभियान सञ्चालन गरेको छ । जुलाई ७ देखि जुलाई १३, २०२६ सम्म सञ्चालन हुने यस अभियानअन्तर्गत फास्टो मार्फत अर्डर गरी Checkout by Fonepay प्रयोग गरेर भुक्तानी गर्ने ग्राहकहरूले २० प्रतिशत क्यासब्याक (अधिकतम रु. १,००० सम्म) प्राप्त गर्न सक्नेछन् ।

यस अभियानले ग्राहकहरूलाई फोनपेको नयाँ भुक्तानी समाधानको छिटो र सहज अनुभवसँगै आकर्षक क्यासब्याकको लाभ लिन प्रोत्साहित गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =