पर्वतमा आधुनिक बाल उद्यान निर्माण

पर्वत । बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले पर्वतमा आधुनिक बाल उद्यान निर्माण गरिएको छ ।

दक्षिण पर्वतको पैयूँ गाउँपालिकामा बालबालिकालाई लक्षित गर्दै जिल्लामै पहिलो र एक मात्र ‘पैयूँ चिल्ड्रेन पार्क’ (बाल उद्यान) निर्माण गरिएको हो ।

गाउँपालिका, गण्डकी प्रदेश सरकार र पैंयू गाउँपालिका–५ कार्यालयको त्रिपक्षीय लगानीमा बाल उद्यान निर्माण गरिएको हो ।

गण्डकी प्रदेश सरकारको रु दश लाख, स्थानीय वडा कार्यालयको रु चार लाख र पैंयूँ गाउँपालिकाको रु एक लाख गरी रु १५ लाख लगानीमा बालउद्यान निर्माण भएको पैंयू गाउँपालिका–५ का अध्यक्ष नारायण भुर्तेलले जानकारी दिए ।

पार्क निर्माण भएपछि ग्रामीण क्षेत्रका रहेका बालबालिकाहरूलाई विभिन्न प्रकारका खेल खेल्न, घुम्न, मनोरञ्जन लिनका लागि सहज हुने वडा अध्यक्ष भुर्तेलले बताए ।

भुर्तेलले भने, ‘गाउँका बच्चाले पनि सहर वा विदेशका बालबालिकाजस्तै खेल्न, हाँस्न र रमाउन पाउनुपर्छ भन्ने अठोटका लगानी गरी पार्क निर्माण गरिएको हो ।’

गाउँपालिकाकै एक मात्र यस पार्कले स्थानीय मात्र नभई वरपरका अन्य गाउँ र बजार क्षेत्रका बालबालिकालाई समेत समेट्ने र उनीहरूलाई एकै ठाउँमा जोडिने अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।

नवनिर्मित चिल्ड्रेन पार्कलाई चाँडै नै एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरी बालबालिकाका लागि खुला गरिने वडा कार्यालयले जनाएको छ ।

बालबालिकाका लागि विभिन्न खेल खेल्ने र मनोरञ्जन लिने तथा अध्ययनका लागि विभिन्न उपकरण र सामाग्री राखिएको छ ।

यसैबीच पैंयू गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले उक्त पार्कलाई पर्यटकीय आकर्षणका लागि अन्य भौतिक संरचना थप गर्न पालिकाले आवश्यक लगानी गर्दै जाने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eleven =