राष्ट्रिय सभा शून्य समय: जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण

काठमाडौँ । सांसदहरूले जनसुरक्षा, सुशासन, पूर्वाधार विकास र सामाजिक न्यायका समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको मङ्गलवारको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले वन्यजन्तुको आक्रमणदेखि प्रशासनिक बेथिति र विकास निर्माणमा देखिएका सुस्तताका बारेमा सरकारको जवाफ माग गरेका हुन् ।

सांसद गीता देवकोटाले चितवनको भरतपुर महानगरपालिका–२३ मा जङ्गली हात्ती ‘ध्रुवे’को आक्रमणबाट आमा–छोराको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै उक्त हात्तीलाई तत्काल नियन्त्रणमा लिन माग गरे । उनले नागरिकको जीवनको मूल्यमा वन्यजन्तु संरक्षण हुन नसक्ने भन्दै पीडित परिवारलाई उचित राहत र निकुञ्ज आसपासका बस्तीमा प्रभावकारी बारको व्यवस्था गर्न सरकारसँग माग गरे ।

सांसद धर्मेन्द्र पाशवानले मधेस प्रदेशमा अपराधका घटना बढेको र अभियुक्तहरू खुला रूपमा हिँडिरहेको भन्दै सुरक्षा व्यवस्थामा प्रश्न उठाए । सप्तरीको सुरुङ्गा नगरपालिकाका पीडितहरू न्यायको पर्खाइमा रहेको तर मुख्य अभियुक्त पक्राउ नपरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

सांसद मिना सिंह रखालले कर्णाली प्रदेशमा भइरहेका सडक दुर्घटना र प्राकृतिक विपत्तिका घटनाप्रति सरकार संवेदनशील नभएको आरोप लगाए । सुर्खेतबाट कालीकोट जाँदै गरेको गाडी कर्णाली नदीमा खसेको, जुम्लामा चट्याङबाट मानवीय क्षति भएको र डोल्पामा सवारी दुर्घटना भएको उल्लेख गर्दै उहाँले घाइतेहरूको निःशुल्क उपचार र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गरे ।

सांसद महन्थ ठाकुरले चुरे विनाशका कारण मधेसमा पानीका स्रोत सुकेको र खेतीयोग्य जमिन बाँझो रहेको भन्दै खानेपानीको हाहाकार समाधान गर्न सरकारले पहल नगरेकोमा आपत्ति जनाए ।

सांसद रामकुमारी झाँक्रीले सरकारले सुशासनको नारा दिए पनि प्रशासनिक संयन्त्रमा अस्थिरता देखिएको टिप्पणी गरिन् । उनले निजामती कर्मचारीहरूले धमाधम राजीनामा दिइरहेको र मन्त्रीहरूले कानुन विपरीत ठूलो सङ्ख्यामा सल्लाहकार नियुक्त गरी राज्यकोषमा भार पारेको भन्दै त्यसको लिखित जवाफ माग गरिन् ।

सांसद रेखाकुमारी झाले निजी विद्यालयहरूले मनपरी शुल्क असुलिरहेको भएपनि सरकारले त्यसलाई नियन्त्रण गर्न नसकेको बताइन् । सांसद रोशनी मेचेले विद्युत् निर्यातको चर्चा भइरहँदा तराईका जनताले लो–भोल्टेज र अघोषित लोडसेडिङको समस्या झेलिरहेको बताइन् ।

उनले चार दशक पुरानो वितरण प्रणाली सुधारका लागि आपत्कालीन कोष खडा गरी संरचनात्मक सुधार थाल्न ऊर्जा मन्त्रालयको ध्यानाकर्षण गराइन् ।

सांसद वासुदेव घिमिरेले माइतीघरमा आन्दोलनरत दृष्टिविहीनहरूमाथि प्रहरीले गरेको बल प्रयोगको निन्दा गरे । सांसद सम्झना देवकोटाले विद्यालय व्यवस्थापन समितिमा राजनीतिक दलका सदस्यलाई प्रतिबन्ध लगाउने मन्त्रिपरिषद्को निर्णयले नागरिकको राजनीतिक अधिकार कुण्ठित गरेको भन्दै त्यसलाई सच्याउन माग गरे ।

सांसद सोमनाथ पोर्तेलले नगरकोट र बोडेका होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीहरूलाई पर्याप्त विकल्पबिना सडकमा अलपत्र पारिएको भन्दै सरकारको कडा आलोचना गरे । उनले गरिब र सुकुम्वासीको समस्या समाधानमा सरकार गम्भीर नभएको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − ten =