हामीले खोजेको राहत होइन, राज्यले भत्काएको बास हो: सुकुम्बासी

काठमाडौँ । कीर्तिपुरस्थित रायस्वामी सतरंग होल्डिङ सेन्टरमा बसोबास गरिरहेका सुकुम्बासी परिवारहरूले सरकारद्वारा मागिएको राहत निवेदन नभर्ने बताएका छन् ।

उनीहरूले राहतभन्दा सम्मानजनक र दीर्घकालीन पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

विज्ञप्तिअनुसार होल्डिङ सेन्टरमा रहेका करिब आधा परिवारले राहतसम्बन्धी निवेदन बुझाइसकेका छन् भने आधा समूह परवारले निवेदन नर्भने अडान राखेका छन् ।

प्रभावित परिवारहरूले आफूहरूले खोजेको राहत नभई राज्यले भत्काएको आफ्नो बासस्थानको सम्मानजनक व्यवस्थापन भएको बताएका छन् । वैकल्पिक आवासको सुनिश्चितता नगरी घर भत्काएर केही रकम उपलब्ध गराउनु दीर्घकालीन समाधान नहुने उनीहरूको भनाइ छ ।

विज्ञप्तिमा आवास नागरिकको मौलिक आवश्यकता भएको उल्लेख गर्दै राज्यले आफूहरूलाई विस्थापित गरेपछि उचित पुनःस्थापना गर्नु सरकारको संवैधानिक, कानुनी तथा नैतिक दायित्व भएको जनाइएको छ । राहत वितरण गरेर मात्रै दायित्व पूरा भएको मान्न नसकिने उनीहरूको तर्क छ ।

प्रभावित परिवारहरूले राहत निवेदन नबुझाएको आधारमा कसैलाई धम्क्याउने, दबाब दिने, अधिकारबाट वञ्चित गर्ने वा भविष्यमा कुनै सेवासुविधाबाट वञ्चित गर्ने कार्य स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

सरकारसँग प्रभावित परिवारका मुख्य माग

  • राहतको सट्टा सम्मानजनक वैकल्पिक आवासको व्यवस्था गरियोस् ।
  • सबै प्रभावित परिवारसँग वार्ता गरी दीर्घकालीन पुनःस्थापनाको योजना कार्यान्वयन गरियोस् ।
  • राहत निवेदन नदिएको आधारमा कुनै पनि नागरिकमाथि विभेद वा दबाब नदिइयोस् ।

प्रभावित परिवारहरूले आफ्नो अधिकार, सम्मान र न्यायपूर्ण पुनःस्थापनाका लागि शान्तिपूर्ण तथा लोकतान्त्रिक रूपमा संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै दीगो व्यवस्थापन नभएसम्म होल्डिङ सेन्टरमै बसोबास गरिरहने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − six =