रुस–युक्रेन द्वन्द्व अन्त्य जनअपेक्षाभन्दा नजिक रहेको ट्रम्पको दाबी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत पाँच वर्षदेखि जारी रुस–युक्रेन द्वन्द्व अन्त्यको समय मानिसहरूले सोचेभन्दा धेरै नजिक रहेको दाबी गरेका छन् ।
सोमवार सञ्चारकर्मीहरूसँग बोल्दै राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनले द्वन्द्व समाधानका लागि रुस र युक्रेन दुवै पक्षसँग निरन्तर संवाद गरिरहेको जानकारी दिए । यो विषय आगामी नाटो शिखर सम्मेलनको मुख्य कार्यसूचीमा समेत रहेको उनले उल्लेख गरे ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की दुवै द्वन्द्व अन्त्य गर्न इच्छुक रहेको ट्रम्पको भनाइ छ । उनले भने, ‘राष्ट्रपति पुटिन र राष्ट्रपति जेलेन्स्की दुवै यस युद्धको अन्त्य चाहन्छन् । हामी वार्ताको प्रक्रियामा छौँ र हामी यसलाई निष्कर्षमा पुर्याउन सक्छौँ कि सक्दैनौँ भन्ने हेर्नेछौँ ।’
उनले थपे, ‘मलाई लाग्छ हामी समाधानको निकै नजिक पुगेका छौँ । हामी नाटो सम्मेलनमा जाँदैछौँ र त्यहाँ यसबारे थप छलफल हुनेछ । मलाई विश्वास छ कि हामी यो द्वन्द्व अन्त्य गर्न सफल हुनेछौँ ।’
टर्कीको अंकारामा मंगलवार र बुधवार आयोजना हुने नाटो शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति ट्रम्प सोमवार साँझ त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।








