दक्षिण लेबनानमा हिजबुल्लाह लक्षित इजरायली सेनाको हवाई आक्रमण

एजेन्सी । इजरायली सेनाले दक्षिण लेबनानमा हिजबुल्लाह लडाकुहरूको एक समूह (सेल) लाई लक्षित गरी हवाई आक्रमण गरेको जनाएको छ ।
जरायली सैन्य प्रवक्ताकाअनुसार आईतवार बिहान इजरायलद्वारा गस्ती गरिएको ‘सुरक्षा क्षेत्र’ नजिकैको अल–उकैदा क्षेत्रमा हिजबुल्लाहको उक्त समूह फेला परेको थियो । ती लडाकुहरूको गतिविधि आफ्ना सैनिकहरूका लागि ‘खतरा’ सावित हुनसक्ने देखिएकाले त्यसलाई निष्तेज पार्न प्रतिकारात्मक आक्रमण गरिएको सेनाले उल्लेख गरेको छ ।
यसैबीच, लेबनानको राष्ट्रिय समाचार एजेन्सीले इजरायली युद्धक विमानहरूले दक्षिण लेबनानको नबाटिया अल–फौकाको बाहिरी इलाकामा आक्रमण गरेको जनाएको छ । लेबनानी सञ्चारमाध्यमकाअनुसार इजरायली सेनाले सीमावर्ती क्षेत्रका विभिन्न स्थानमा गोलाबारी गर्नुका साथै केही भौतिक संरचनाहरू ध्वस्त पार्न विष्फोट समेत गराएको छ ।
सीमा क्षेत्रमा जारी द्वन्द्व र शत्रुता अन्त्य गर्ने उद्देश्यले लेबनान र इजरायलबीच हालै एउटा रूपरेखा सम्झौता (फ्रेमवर्क एग्रिमेन्ट) भएको थियो । यद्यपि, उक्त सम्झौताको कार्यान्वयनको चरणमा पनि सीमा क्षेत्रमा तनाव र सैन्य कारबाहीका घटनाहरू निरन्तर भइरहेका छन् ।








