विज्ञान मन्त्रालयका लागि ४ अर्ब अत्यन्तै कम बजेट: महावीर पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयले विज्ञान प्रविधिको क्षेत्रमा हालसम्मकै ठुलो रकम छुट्याएको बताएका छन् ।

सोमवार राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले विज्ञान तथा प्रविधिका क्षेत्रमा यसअघि कहिल्यै यति ठुलो बजेट विनियोजन नभएको बताए । यसअघि १ अर्ब रुपैयाँसम्म छुट्याएको र सो रकम समेत आवश्यक कानुनी व्यवस्था नहुँदा खर्च हुन नसकेकोले बताए । सोही कारण हाल धेरै मान्छेलाई यो रकम कहाँ खर्च होला ? भन्ने उत्सुकता बढेको उनको भनाई छ । तर ४ अर्ब रुपैयाँका विज्ञान तथा प्रविधि क्षेत्रमा एकदमै कम रकम भएको बताए ।

यद्यपि अहिलेलाई भने यो रकम पर्याप्त रहेको उनको भनाई छ । उनले खर्च गर्ने कार्यक्रम निर्धारण गर्न बाँकी रहेकोले विनियोजित ४ अर्ब रुपैयाँमध्ये ३ अर्ब ४० करोड रुपैयाँ अर्बमा राखिएको जानकारी दिए । मन्त्री पुनकाअनुसार मन्त्रालयका अघिल्ला कार्यक्रम सञ्चालनका लागि ६० करोड रुपैयाँ छुट्याइएको छ भने बाँकी ३ अर्ब ४० करोड रुपैयाँको खर्च योजना ऐन तथा नियमावली बनेपछि मात्रै तय गरिनेछ ।

उनका अनुसार मन्त्रालयले अहिले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी ऐन र नियमावली तयार गर्ने काम अघि बढाएको छ । ती कानुनी आधार तयार भएपछि मात्रै अबण्डामा रहेको बजेट कार्यान्वयनमा ल्याइने उनले जानकारी दिए ।

उनले भने ‘सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई ४ अर्ब रुपैयाँ छुट्याएको छ, यो भनेको पुँजीगत खर्चको एक प्रतिशत हो । यसमा पहिलेदेखि नै सञ्चालन भइरहेका केही कार्यक्रममा ६० करोड रुपैयाँ छुट्याइएको छ, बाँकी ३ अर्ब ४० करोड रुपैयाँ अबण्डामा राखिएको छ, यो बजेट जेठ १५ गते आँउदाखेरी के गर्ने, कसो गर्ने भन्ने थाहा नै थिएन, त्यही भएर अवण्डामा राखिएको हो । यो वैज्ञानिक भएन भन्ने कुरा नि छ, वैज्ञानिक त भएन तर अबण्डामा राखेर पनि काम गर्ने चलन रहेछ, त्यसकारण यो कानुन विपरीत पनि भएन होला । अब यो साँढे ३ अर्ब रुपैयाँ कसरी खर्च हुन्छ भन्नेकुरा धेरैलाई अचम्म लागेको छ, किनभने अहिलेसम्म यति रकम छुट्याएको नै थिएन, अहिलेसम्मको इतिहासमा २०८० मा विज्ञान, प्रविधिको लागि १ अर्ब रुपैयाँ छुट्याएको थियो, त्यो पनि खर्च गर्ने ऐन नभएर खर्च हुन सकेन, अर्थमन्त्रालयले त्यो रकम विश्वविद्यालयहरूलाई बाँड्यो । अहिले ४ अर्ब रुपैयाँ बजेट छुटाउँदा धेरैलाई अचम्म लागेको छ। यो बजेट कसरी, कहाँबाट खर्च होला भन्ने छ तर यो ४ अर्ब टिको लगाउने भन्छ, दसैँमा टिको लगाउने हो, यसले केही हुँदैन । तर अहिलेको अवस्थामा यो पनि धेरै भयो । किन धेरै भयो भन्दा ऐन कानुन, नियमावली केही पनि छैन, बल्ल सुरु भयो । एकदुई हप्तादेखि हामी यसको ऐन, नियमावली बनाउँदै छौँ । ऐन, नियमावली नबनाएसम्म खर्च गर्न पाइँदैन, ऐन कानुन नबनाई खर्च गरेमा अख्तियारले समात्छ ।’

उनले युवाहरूलाई विज्ञान तथा नवप्रवर्तनको क्षेत्रमा लाग्न मन्त्रालयले प्रोत्साहन गर्ने बताए । स्थानीय सरकार र प्रदेश सरकारले पनि विज्ञान प्रविधिको क्षेत्रमा बजेट छुट्याउनुपर्नेमा जोड दिए । पूर्वाधारमा विकासले मात्रै देश विकास नहुने बताए । देशविकासको लागी अर्थतन्त्र मजबुद बनाउनुपर्ने र अर्थतन्त्रको आकार बढाउन खोज अनुसन्धान तथा नवप्रवर्तकको क्षेत्रमा लगानी गर्न आवश्यक रहेको उनको भनाई छ ।

विज्ञानमा गरिएको खर्चलाई लगानीको रूपमा बुझ्नुपर्नेमा उनले जोड दिए । विज्ञानमा लगानी नगरेका कारण नै नेपाल पछाडि परेको उनको दाबी छ । विकसित सबै देशहरूले विज्ञान तथा प्रविधि क्षेत्रमा लगानी गरेका कारण नै उनीहरू विकसित भएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − six =