सरकार लोकतान्त्रिक मूल्य–मान्यता विपरित चलेको एमालेको आरोप

काठमाडौं । नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले वर्तमान सरकार गठन भएको सय दिन पूरा हुँदा पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै कडा आलोचना गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकार ‘निर्वाचित अधिनायकवाद’ र अलोकतान्त्रिक पद्धतिबाट अघि बढिरहेको आरोप लगाए ।

बरालले संविधान संशोधनका विषयमा सत्ता पक्षबाट विरोधाभासपूर्ण अभिव्यक्ति आएको भन्दै प्रधानमन्त्री कार्यालयबाट सुरु गरिएको प्रक्रियाप्रति एमालेको गम्भीर असहमति रहेको स्पष्ट पारे ।

उनले संसदीय अभ्यासअनुसार प्रतिनिधिसभा सञ्चालन नियमावली जबरजस्ती पारित गरिएको दाबी गर्दै यसले कानुनी राज्यको मर्यादा उल्लंघन गरेको टिप्पणी गरे ।

उनका अनुसार मन्त्रीहरूमाथि उठेका नैतिक प्रश्नलाई आन्तरिक रूपमा किनारा लगाउने प्रयासले कानुनी राज्यको धज्जी उडाएको छ ।

शिक्षा क्षेत्रको सुधारका नाममा शिक्षा ऐन ल्याउनुको सट्टा नियमावलीमार्फत शिक्षक र विद्यालय व्यवस्थापन समितिमाथि नियन्त्रण गर्न खोजिएको भन्दै उनले आपत्ति जनाए ।

बरालले मौलिक हक र संवैधानिक आयोगहरूमाथि सरकारले एकपछि अर्को हस्तक्षेप गरिरहेको आरोप लगाए ।

उनले आर्थिक क्षेत्रको अवस्थाप्रति पनि चिन्ता व्यक्त गर्दै नेप्से परिसूचकमा देखिएको २९८ अङ्कको गिरावट र बैंकिङ क्षेत्रमा देखिएको सुस्तताले सरकारको आर्थिक नीति कमजोर भएको संकेत दिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − five =