सम्पत्ति शुद्धीकरण विधेयक हतारमा ल्याइएको भन्दै सांसदहरूको आलोचना

काठमाडौं । सांसदहरूले सरकारले संसदलाई छलेर अध्यादेशमार्फत विधेयक ल्याएको र यसले विद्यमान कानुनी संरचनालाई कमजोर बनाउन खोजेको भन्दै आलोचना गरेका छन् ।

शनिवारको राष्ट्रिय सभा बैठकमा बोल्दै काँग्रेस सांसद खम्मबहादुर खाती र नेकपा एमाले सांसद सोमनाथ पोर्तेलले संसदलाई छलेर अध्यादेशमार्फत विधेयक ल्याउनु विद्यमान कानुनी संरचनालाई कमजोर बनाउनु भएको बताएका हुन् । राष्ट्रिय सभाको बैठकमा शनिवार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफल जारी छ ।

छलफलमा भाग लिँदै सांसद खम्मबहादुर खातीले प्रस्तावित विधेयक संविधानको धारा ११४ को मर्म विपरीत रहेको तर्क गरे । उनले अध्यादेश विशेष परिस्थितिमा मात्र ल्याइनुपर्नेमा सरकारले हतारो गरेको बताए ।

उनले भने, ‘विधेयकका कतिपय प्रावधानले अन्य विशेष ऐनहरूलाई ओभररुल गर्न खोजेको देखिन्छ, जुन क्षेत्राधिकार बाहिरको विषय हो । संसद् छलेर ल्याइएको यो विधेयकले विधिको शासनको खिल्ली उडाएको छ ।’

सांसद खातीले सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा फिर्ता लिने सरकारी प्रवृत्तिको पनि विरोध गरे । उनले महान्यायाधिवक्ताको कार्यालय र सरकारी वकिलहरूको क्षेत्राधिकारमाथि हस्तक्षेप गरी राजनीतिक उद्देश्यका लागि मुद्दा फिर्ता लिँदा राज्यका संस्थाहरू कमजोर हुने धारणा राखे । उनले विधेयकलाई थप परिष्कृत गर्न विधायन समितिमा पठाएर दफावार छलफल गर्नुपर्ने माग गरे ।

अर्का सांसद सोमनाथ पोर्तेलले सरकारले संसद् अधिवेशन छलेर हतारमा अध्यादेश ल्याएको भन्दै आपत्ति जनाए । उनले सार्वजनिक बिदाका दिनमा समेत सदन चलाएर विधेयक पारित गर्न खोज्नुको कारणबारे सरकारसँग जवाफ माग गरे । सांसद पोर्तेलले सम्पत्ति शुद्धीकरणका मुद्दाहरूमा सरकारले दोहोरो मापदण्ड अपनाएको आरोप लगाए ।

राष्ट्रिय सभामा भएको यस छलफलमा सांसदहरूले विधेयकका प्रावधानहरूले कानुनी जटिलता निम्त्याउन सक्ने र यसले सुशासनमा असर पार्ने भन्दै ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =