राष्ट्रिय सभा बैठक

विकास निर्माण, प्राकृतिक प्रकोप र सुशासनका मुद्दामा सांसदहरूको ध्यानाकर्षण

काठमाडौं । सांसदहरूले मुलुकको समसामयिक अवस्था, विकास निर्माणमा देखिएका अवरोध र सुशासनका सवालमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको शनिवार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले वर्षायाममा कर्णालीको सडक समस्या, सवारी दुर्घटना, मल खरिदमा देखिएको अनियमितता र शिक्षा–स्वास्थ्यको क्षेत्रमा रहेका बेथितिका विषयमा आवाज उठाएका हुन् ।

बैठकमा सांसद दुर्गा गुरुङले वर्षायाम सुरु भएसँगै कर्णाली प्रदेशका नागरिकले भोग्नुपरेको विकराल सडक यातायात समस्याका बारेमा सदनलाई जानकारी गराइन् । बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको आपूर्ति, स्वास्थ्य सेवा र आपत्कालीन उद्धारमा गम्भीर असर पुगेको उल्लेख गर्दै उनले दिगो सडक पूर्वाधार निर्माण र प्रभावकारी मर्मत सम्भारका लागि माग गरिन् ।

त्यस्तै, सांसद नरबहादुर विष्टले सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको गाडी दैलेख खण्डमा दुर्घटना हुँदा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरे । दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले बेपत्ताको खोजी कार्य तिब्रताका साथ अघि बढाउन माग गरे । उनले सम्भावित बाढी-पहिरोको जोखिम न्यूनीकरणका लागि गृह मन्त्रालयको पूर्वतयारीबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए ।

मल खरिदमा भएको सम्भावित भ्रष्टाचारको विषय उठाउँदै सांसद नारायणदत्त मिश्रले भारत र नेपालको खरिद मूल्यमा देखिएको ठूलो अन्तरबारे प्रश्न गरे । भारतले प्रति मेट्रिक टन ५४० डलरमा खरिद गर्ने डीएपी मल नेपालले ९०० डलरमा खरिद गर्नुको कारण माग गर्दै उनले यस प्रक्रियामा प्रतिस्पर्धा र पारदर्शिता भए/नभएकोबारे छानबिन गर्न सरकारसँग माग गरे ।

त्यस्तै, सांसद युवराज शर्माले जनसरोकारका विविध विषयमा सरकारको ध्यानाकर्षण गराए । मेलम्ची खानेपानीको पुनः अवरोध, स्वास्थ्य र शिक्षामा गरिएको कर वृद्धि तथा विद्यालय क्षेत्र आसपास हुने सुर्तीजन्य र मदिराजन्य पदार्थको विक्री वितरणमा नियन्त्रण गर्नुपर्ने उनको भनाइ थियो । शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता औँल्याउँदै उनले वर्तमान परीक्षा प्रणाली र पाठ्यक्रममा परिवर्तनको खाँचो रहेको बताए ।

यसैगरी, सांसद सुरेशकुमार आले मगरले भने शून्य समयमा कुनै पनि विषय नराखी सरकारको कार्यशैलीप्रति सांकेतिक विरोध जनाए । संसद्मा उठाइएका जनसरोकारका विषयमा मन्त्री र प्रधानमन्त्रीले जवाफ नदिएको भन्दै उनले शून्य समयमा केही नबोल्नु नै उचित हुने भन्दै असन्तुष्टि व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 15 =