गृहमन्त्री सुदन गुरुङ विराटनगरमा, विभिन्न क्षेत्रको निरीक्षणमा व्यस्त

काठमाडौं । गृहमन्त्री सुदन गुरुङ शनिबार बिहानै विराटनगर पुगेका छन् । उनी बिहान १० बजेर ५७ मिनेटमा बुद्ध एयरको जहाजबाट विराटनगर विमानस्थलमा ओर्लिएका थिए ।
गृहमन्त्री गुरुङले विराटनगरमा जिल्ला प्रशासन, कारागार कार्यालय, प्रदेश प्रहरीलगायतका कार्यालयको निरीक्षणमा गरिरहेका छन् । लगत्तै इटहरीको पकलीस्थित सशस्त्र प्रहरीको प्रदेश कार्यालयको निरीक्षण गर्ने योजना छ ।
गुरुङले प्रहरी कार्यालयका जीर्ण भवन तथा कमजोर भौतिक पूर्वाधारको सुधारलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने बताए । बजेटको सीमितताका कारण निर्माण कार्यले अपेक्षित गति लिन नसकेको स्वीकार गर्दै उनले स्रोत व्यवस्थापन गरी प्रहरीका आवश्यक भवन निर्माणलाई तीव्रता दिइने प्रतिबद्धता जनाएका छन् ।
विराटनगर पुगे लगत्तै विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रहरी संगठनलाई प्रभावकारी बनाउन भौतिक पूर्वाधार मजबुत हुन अपरिहार्य रहेको पनि बताएका थिए ।
सुरक्षा स्रोतका अनुसार गृहमन्त्री गुरुङले झापा, मोरङ र सुनसरीलगायत जिल्लाको सीमा सुरक्षा अवस्था, विपद् तयारी तथा प्रशासनिक गतिविधिलगायत विषयको अनुगमन गर्ने सम्भावना छ। यद्यपि, गृह मन्त्रालयले भ्रमण तालिका सार्वजनिक गरेको छैन।








