ट्रान्स–हिमालयन कनेक्टिभिटीको कार्यान्वयनमा जोड दिन चीनसँग पूर्वप्रधानमन्त्री खनालको आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेपालको विकास र समृद्धिका लागि चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को ऐतिहासिक अनुभव, वैचारिक स्पष्टता र राजनीतिक अनुशासन अनुकरणीय रहेको बताएका छन् ।
‘चिनियाँ कम्युनिष्ट पार्टीको १०५ वर्षः ऐतिहासिक अनुभव र नेपालको विकास’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता खनालले कुनैपनि पार्टी र राज्य सञ्चालनका लागि सही वैचारिक कार्यदिशा, सुदृढ अनुशासन र भ्रष्टाचार विरुद्धको कडा कदम अपरिहार्य हुने उल्लेख गरेका हुन् ।
सीपीसीबारे चर्चा गर्दै नेता खनालले माओत्सेतुङ, देङ सियाओपिङ र सी चिनफिङको नेतृत्वमा चीनले प्रत्येक युगका चुनौतीहरूलाई सफलतापूर्वक सामना गरेको बताए ।
नेता खनालले चीनले विदेशी मोडलको अनुकरण नगरी आफ्नै विशिष्टता र मौलिकतामा आधारित ‘चिनियाँ विशेषतासहितको समाजवाद’ अवलम्बन गरेका कारण ऐतिहासिक सफलता हासिल गरेको उल्लेख गरे ।
तीव्र आर्थिक वृद्धि, गरिबी निवारण र आधुनिक पूर्वाधारको विकास गर्दै सन् २०४९ सम्ममा एक समृद्ध र आधुनिक समाजवादी राष्ट्र निर्माण गर्ने चीनको लक्ष्य विश्व समुदायका लागि विकासको वैकल्पिक मार्गचित्र भएको उनको तर्क छ ।
नेपालले वाह्य खाकाहरूलाई हुबहु नक्कल गर्नुभन्दा आफ्नै भूराजनीतिक अवस्था, ऐतिहासिक सांस्कृतिक विरासत र घरेलु यथार्थमा आधारित सामाजिक–आर्थिक मार्गचित्र तयार गर्नुपर्नेमा खनालले जोड दिए । उनले सीपीसीको सफलताबाट नेपालले बलियो राजनीतिक संस्था, दीर्घकालीन स्थिरता र संस्थागत उत्तरदायित्वका पाठहरू सिक्नुपर्ने बताए ।
नेपाल र चीनबीचको सात दशक लामो सम्बन्धलाई ‘शान्तिपूर्ण सहअस्तित्वको अनुपम नमूना’का रूपमा चित्रण गर्दै पूर्वप्रधानमन्त्री खनालले चीन नेपालको भरपर्दो र विश्वासिलो साझेदार रहेको उल्लेख गरे । उनले नेपाल ‘एक चीन नीति’ प्रति सदैव प्रतिबद्ध रहेको र नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने पुनरावृत्ति गरे ।
सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा व्यक्त भएको ‘नेपाललाई भूपरिवेष्ठितबाट भू–जडित मुलुक बनाउने’ दृष्टिकोणलाई साकार पार्न बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका आयोजनाहरूलाई तीव्रता दिनुपर्ने उनको भनाइ छ ।
परम्परागत कुटनीतिभन्दा माथि उठेर आर्थिक साझेदारी र राजनीतिक संवादका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले ट्रान्स–हिमालयन कनेक्टिभिटीको कार्यान्वयनमा जोड दिए ।








