हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दैलेखको चामुण्डा विद्रासैन्नीस्थित कर्णाली राजमार्गबाट बिहीबार नदीमा खसेर बेपत्ता भएको गाडी तथा यात्रुको हेलिकप्टरबाट खोजी गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री कँडेलले आज कर्णाली प्रदेशमा रहेका चारवटै सुरक्षा निकायका प्रमुखसँग खोजी तथा उद्धारबारे जानकारी लिँदै उपलब्ध सबै साधनस्रोत परिचालन गर्ने गरी खोजीलाई तीव्र बनाउन आग्रह गरेका हुन् । छलफलमा उनले अहिलेसम्म सुरक्षा निकायहरुबाट खोजी तथा उद्वारमा भइरहेको कामको प्रशंसा गर्दै आवश्यकताअनुसार हेलिकप्टरबाट परिचालन गर्न निर्देशन दिए ।

उनले दैलेखदेखि भारतको सीमासम्म खोजीको दायरा विस्तार गर्न निर्देशन दिए । छलफलमा सशस्त्र प्रहरी बल नेपाल नं. ६ बाहिनी मुख्यायलय सुर्खेतका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णराज पाठकले घटनास्थलमा गोताखोर परिचालन गरिएको र थप जनशक्ति कुरिनटारबाट हिँडिसकेको जानकारी दिए ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जलसतह बढेको, धमिलो पानी तथा भौगोलिक कठिनाइका कारण खोजी कार्यमा चुनौती थपिएको बताए । सबै सुरक्षा निकायको सामूहिक प्रयासबाट उपलब्ध सम्पूर्ण जनशक्ति र स्रोतसाधन परिचालन गरी खोजी जारी राखिएको उनको भनाइ थियो । उनका अनुसार नेपाली सेनासमेत खोजीमा परिचालन भएको र ड्रोन क्यामेराबाट सम्भावित स्थानहरुमा खोजी सुरु भएको छ ।

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी बिहीबार ११ः३० बजे सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेर बेपत्ता भएको थियो । दुर्घटनापछि अचेत अवस्थामा भीरमा अड्केका पचालझरना गाउँपालिका–९ कालिकोटका ५४ वर्षीय जेखे तिरुवालाई उद्धार गरी उपचारका लागि अस्पताल लिँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीमा सवार यकीन नभएका अन्य यात्रुहरुको अवस्था अज्ञात रहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =