फिफा विश्वकप २०२६

पोर्चुगल प्रि–क्वाटरफाइनलमा प्रवेश, प्रतियोगिताबाट बाहिरियो क्रोएसिया

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ (राउन्ड अफ ३२) को बहुप्रतीक्षित भिडन्तमा क्रोएसियाको विश्वकप यात्रामा फेरि एक पटक निराशा थपिएको छ।

नेपाली समयअनुसार शुक्रबार बिहान ४:४५ बजे क्यानडाको टोरन्टोमा भएको खेलमा पोर्चुगलले दोस्रो हाफको अन्तिम समयमा निर्णायक गोल गर्दै क्रोएसियालाई २–१ ले पराजित गर्‍यो। यससँगै पोर्चुगल अन्तिम १६ (प्रि–क्वाटरफाइनल) मा प्रवेश गरेको छ।

विश्वकप इतिहासमा पोर्चुगल र क्रोएसियाबीच भएको यो दोस्रो भेट हो। यसअघि सन् २००६ को जर्मनी विश्वकपको समूह चरणमा पनि पोर्चुगलले क्रोएसियालाई १–० ले हराएको थियो। दुई दशकपछि भएको पुनः भेटमा पनि नतिजा क्रोएसियाको पक्षमा जान सकेन।

विश्व फुटबलमा बलियो टोलीका रूपमा परिचित भए पनि क्रोएसियाले विश्वकपका महत्त्वपूर्ण चरणहरूमा पटक–पटक हृदयविदारक हार बेहोर्दै आएको छ। स्वतन्त्र राष्ट्रका रूपमा पहिलो पटक सन् १९९८ को विश्वकप खेल्दा क्रोएसिया सेमिफाइनलमा फ्रान्ससँग २–१ ले पराजित भएको थियो।

त्यसपछि नेदरल्यान्ड्सलाई हराउँदै तेस्रो स्थान हासिल गरेको थियो। सन् २०१८ को रसिया विश्वकपमा क्रोएसियाले इतिहासमै पहिलो पटक फाइनल यात्रा तय गरे पनि उपाधि भने जित्न सकेन। फाइनलमा फ्रान्ससँग ४–२ ले पराजित हुँदै टोली उपविजेतामै सीमित भयो।

त्यसपछि सन् २०२२ को कतार विश्वकपमा पनि सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले हार बेहोरेको क्रोएसियाले मोरक्कोलाई पराजित गर्दै तेस्रो स्थानमा प्रतियोगिता टुंग्याएको थियो। यस पटक पनि नकआउट चरणमा पोर्चुगलसँग अन्तिम समयमा पराजित भएपछि क्रोएसियाको विश्वकप इतिहासमा अर्को पीडादायी अध्याय थपिएको छ।

उत्कृष्ट प्रदर्शन गर्दै आए पनि निर्णायक क्षणमा हार बेहोर्ने नियतिले क्रोएसियालाई फेरि एक पटक विश्वकपको ‘अभागी टोली’ का रूपमा चित्रित गरेको छ। अब पोर्चुगलले अन्तिम १६ (प्रि–क्वाटरफाइनल)को खेलमा स्पेनको सामना गर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =