दक्षिण कोरियाली संसदद्वारा हन सेओङ–सुक नयाँ प्रधानमन्त्रीमा अनुमोदित

एजेन्सी । दक्षिण कोरियाको राष्ट्रिय सभा (नेसनल एसेम्बली) ले प्रधानमन्त्रीका रूपमा हन सेओङ–सुकको नियुक्तिलाई बहुमतले अनुमोदन गरेको छ । संसदमा भएको मतदानमा उहाँको पक्षमा १६६ मत परेको थियो भने एक मत बदर भएको थियो ।
कुल १६७ सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए । सभामुख चो जोङ–सिकले मतदानको नतिजा घोषणा गर्दै भने,‘कुल १६७ मतमध्ये पक्षमा १६६ र १ मत बदर भएकाले हन सेओङ–सुकलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने प्रश्ताव पारित भएको घोषणा गर्दछु ।’
प्रमुख प्रतिपक्षी दल ‘पिपल पावर पार्टी’ ले मतदान प्रक्रिया बहिष्कार गरेको थियो । यद्यपि, सत्तारुढ ‘डेमोक्रेटिक पार्टी’ र अन्य सरकार पक्षधर दलका सांसदहरूले भने हनको नियुक्तिको पक्षमा मतदान गरेका थिए ।
राष्ट्रपति ली जे म्युङले गत जुन ७ मा हनलाई प्रधानमन्त्री पदका लागि मनोनयन गरेका थिए । सन् १९६७ मा ग्योन्गी प्रान्तमा जन्मिएकी हनले सुकम्युङ महिला विश्वविद्यालयबाट अङ्ग्रेजी भाषा र साहित्यमा स्नातक गरेकी छन् ।
दक्षिण कोरियाली इन्टरनेट क्षेत्रको प्रतिष्ठित कम्पनी ‘नेभर’को मुख्य कार्यकारी अधिकृत (सीईओ) का रूपमासमेत अनुभव सँगालेकी उनी सन् २०२५ मा साना तथा मझौला उद्योग र स्टार्टअप मन्त्री नियुक्त भएकी थिइन् ।
औपचारिक रूपमा कार्यभार सम्हालेसँगै हन सेओङ–सुक दक्षिण कोरियाको इतिहासमा हन म्योङ–सुकपछिको दोस्रो महिला प्रधानमन्त्री बन्नेछिन् ।








