फिफा विश्वकप २०२६

विश्वकपको अन्तिम १६ मा सात टोली, आज थप तीन रोमाञ्चक नकआउट भिडन्त

ब्राजिलले नर्वेसँग, फ्रान्सले पाराग्वे सँग तथा क्यानडाले मोरक्को सँग प्रतिस्पर्धा गर्नेछन्

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ का खेलहरू जारी रहँदा बुधवार बिहानसम्म सात टोलीले अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्। क्यानडा, ब्राजिल, पाराग्वे, मोरक्को, नर्वे, फ्रान्स र मेक्सिकोले जित निकाल्दै उपाधि यात्रालाई निरन्तरता दिएका हुन्।

राउन्ड अफ ३२ मा क्यानडाले दक्षिण अफ्रिकालाई १–० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो। ब्राजिलले जापानलाई २–१ गोलले हराउँदै आफ्नो उपाधि दाबेदारीलाई बलियो बनायो। जर्मनी र पाराग्वे बिचको खेल निर्धारित तथा अतिरिक्त समयमा १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुट आउटमा पाराग्वे ४–३ ले विजयी भयो। यस्तै, मोरक्कोले नेदरल्यान्ड्ससँग १–१ गोलको बराबरीपछि पेनाल्टी सुट आउटमा ३–२ को जित निकाल्दै अघिल्लो चरणमा स्थान सुरक्षित गर्‍यो।

मङ्गलवार राति नर्वेले आइभोरी कोस्टलाई २–१ गोलले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गर्दा फ्रान्सले स्विडेनलाई ३–० गोलले हराउँदै प्रभावशाली प्रदर्शन गर्‍यो। आयोजक मेक्सिकोले इक्वेडरलाई २–० गोलले पराजित गर्दै चार दशकपछि विश्वकपको नकआउट चरणमा पहिलो जित दर्ता गर्दै अन्तिम १६ मा स्थान बनाएको हो।

हालसम्म अन्तिम १६ का तीन भिडन्त निश्चित भइसकेका छन्। ब्राजिलले नर्वेसँग, फ्रान्सले पाराग्वे सँग तथा क्यानडाले मोरक्को सँग प्रतिस्पर्धा गर्नेछन्। त्यसै गरी मेक्सिकोले इङ्गल्यान्ड र डीआर कङ्गोबिचको विजेतासँग खेल्नेछ।

अब अन्तिम १६ का बाँकी स्थानका लागि बुधवार राति तथा बिहीबार बिहान तीन महत्त्वपूर्ण खेल हुँदै छन्। इङ्गल्यान्डले डीआर कङ्गोसँग, बेल्जियमले सेनेगल सँग तथा आयोजक संयुक्त राज्य अमेरिकाले बोस्निया एन्ड हर्जेगोभिनासँग प्रतिस्पर्धा गर्नेछन्। यी खेलका विजेताले अन्तिम १६ को समीकरणलाई थप स्पष्ट बनाउनेछन्।

यस संस्करणमा पहिलो पटक ४८ टोली सहभागी भएकाले विश्वकपको नकआउट चरण राउन्ड अफ ३२ बाट सुरु गरिएको हो। अब अन्तिम १६ मा उपाधिका प्रमुख दाबेदार बिच हुने प्रतिस्पर्धाले विश्व फुटबल समर्थकको ध्यान तानेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =