सिटिजन्स बैंकद्वारा विश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मधेस प्रदेशको विश्रामपुर गाउँपालिका, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ ।
स्वस्थ दृष्टि र उज्यालो भविष्यको लक्ष्यसहित आयोजना गरिएको यस शिविरले समुदायका नागरिकलाई गुणस्तरीय नेत्र स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने अपेक्षा गरेको छ ।
शिविरमा करिब ८०० जना सेवाग्राहीले निःशुल्क आँखा परीक्षण सेवा प्राप्त गरेका छन् भने परीक्षणका क्रममा करिब १५० जना मोतिबिन्दुका बिरामीको शल्यक्रिया गरिने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।
आषाढ १२ गते देखि १६ गते, २०८३ सम्म सञ्चालन भएको उक्त शिविर बरैनीया, छतवा, मुसहरवा, बलिरामपुर तथा नकटुवा लगायतका स्थानहरूमा आयोजना गरेको थियो । शिविरमा सहभागी हुने सर्वसाधारणले निःशुल्क आँखा परीक्षण सेवा प्राप्त गर्नुका साथै आवश्यकता अनुसार मोतिबिन्दुको शल्यक्रिया लिएका छन् ।
स्थानीय बासिन्दाहरूलाई समयमै आँखा परीक्षण गराई दृष्टि सम्बन्धी समस्याको पहिचान तथा उपचारमा सहभागी गराई सर्वसाधारणलाई लाभ पुर्याउने उद्देश्यले यो शिविर सञ्चालन गरिएको हो । यस कार्यक्रम मार्फत बैंकले समुदायको स्वास्थ्य सुधार, अन्धोपन न्यूनीकरण तथा जनजीवनको गुणस्तर अभिवृद्धिमा योगदान पुर्याउने बैंकले विश्वास लिएको छ ।
आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।








