संसदीय शासन प्रणाली असफल भइसक्यो, प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली उपयुक्त विकल्प: वामदेव गौतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले संसदीय शासन प्रणाली असफल भइसकेको भन्दै नेपालका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली उपयुक्त विकल्प हुने बताएका छन् ।

बुधवार पूर्वसांसद मञ्च, नेपालको ६६ औँ वार्षिक साधारणसभामा बोल्दै उनले २०१५ सालदेखि हालसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षे कार्यकाल पूरा गर्न नसकेको र संसदसमेत पूर्ण कार्यकाल चल्न नसकेको तर्क गरे ।

‘२०१५ सालदेखि अहिलेसम्म कुनै पनि प्रधानमन्त्री पाँच वर्ष टिक्न सकेनन्, संसद पनि पाँच वर्ष चल्न सकेन,’ उनले भने, ‘त्यसैले यो प्रणालीको औचित्य समाप्त भएको जस्तो देखिन्छ ।’

उनका अनुसार निर्वाचित सरकारलाई पाँच वर्षसम्म स्थिर रूपमा काम गर्ने सुनिश्चितता हुनुपर्ने र बीचमै सरकार परिवर्तन हुने व्यवस्था अन्त्य गर्नुपर्ने आवश्यकता छ ।

‘निर्वाचित भएपछि पाँच वर्ष काम गर्ने व्यवस्था हुनुपर्छ,’ उनले भने, ‘बीचमै हटाउने प्रणाली हुनु हुँदैन, त्यसैले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नै उपयुक्त हुन्छ ।’

नेता गौतमले पूर्वसांसदहरूको अनुभव राष्ट्र निर्माणमा उपयोग गर्नुपर्ने आवश्यकता पनि औँल्याए । उनले उनीहरूलाई विकास निर्माण र अनुगमनमा जिम्मेवारी दिन सकिने बताए ।

‘पूर्व सांसदहरूलाई कुनै न कुनै क्षेत्रमा विकास निर्माण वा निरीक्षणको जिम्मा दिन सकिन्छ,’ उनले भने, ‘यस्तो अभ्यास संसारका विभिन्न देशमा छ ।’

उनले संविधान संशोधनसम्बन्धी आफ्नो पुस्तकमा पनि नेपालमा प्रधानमन्त्री प्रणाली असफल भएको निष्कर्ष लेखेको उल्लेख गरे ।

साथै उनले महिला सहभागिताबारे उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ प्रतिशत महिला उम्मेदवारलाई जिताएर ल्याएको विषय सकारात्मक भएको टिप्पणी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 18 =