लैंगिक हिंसा रोकथामको विषय सरकारको प्राथमिकतामा छः मन्त्री वादी

काठमाडौं । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले महिला तथा बालिकामाथि हुने लैगिक हिंसा रोकथामको विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको बताएकी छन् ।
बुधवार राष्ट्रिय सभा बैठकमा प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा, रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने व्यवस्था सम्बन्धी संकल्प प्रस्तावमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएकी हुन् ।
मन्त्री वादीले लैंगिक हिंसाविरुद्ध सरकारले सामाजिक कार्ययोजना तर्जुमा गरेको पनि बताइन्। उनले लैंगिक हिंसा तथा डिजिटल हिंसा रोकथामका लागि मन्त्रालयले सचेतनामूलक अडियो, भिडियो सामग्री निर्माण गरी प्रसारणको तयारीमा रहेको पनि बताइन् । सरकारले लैगिक हिंसाबाट पीडित र प्रभावित महिलाहरूका लागि २१ वटा स्थानीय तहमा सञ्चालनमा रहेका सुरक्षित आश्रय स्थललाई सहयोग प्रदान गर्दै आएको मन्त्री वादीको भनाई थियो ।
उनले भनिन्, ‘मन्त्रालयले लैगिंक हिंसा विरुद्ध सामाजिक कार्य योजना तर्जुमा गरेको छ । र उक्त कार्य योजनामा डिजिटल हिंसा रोकथामका विषयलाई प्राथमिकताका साथ समावेश गरिएको छ ।’
मन्त्री वादीले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति, २०८२ मा प्रविधिको दुरुपयोग गरी हुने मानव बेचबिखन नियन्त्रणको लागि आवश्यक संयन्त्रको व्यवस्था गरिएको समेत बताइन् ।








