उषा रजक प्रकरण: बारम्बार म्यासेन्जर कलबारे प्रहरी के भन्छ ?

काठमाडौँ । पछिल्लो समय नेपाली मनोरञ्जन क्षेत्रमा सामाजिक सञ्जाल र डिजिटल माध्यमसँग जोडिएका विवादहरू एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् । एकातिर लोकप्रिय गायक सुजन चापागाईँसँग सम्बन्धित निजी च्याटका विषयमा सामाजिक सञ्जालमा बहस चर्किएको छ भने अर्कोतिर नायिका उषा रजकले आफूलाई बारम्बार फोनमार्फत हैरान दिइएको तर प्रहरीले उजुरी लिन नमानेको भन्दै भिडिओ सार्वजनिक गरेकी छन् ।

यी घटनाले व्यक्ति विशेषको विवादभन्दा पनि डिजिटल आचरण, अनलाइन उत्पीडन र गोपनीयताबारे नयाँ बहस सुरु गरेको छ ।

यद्यपि सामाजिक सञ्जालमा भने यस विषयमा मिश्रित प्रतिक्रिया देखिएका छन् । केहीले म्यासेन्जरमा ‘पर्सेस्टेन्ट अनवान्टेड कन्ट्याक्ट’ सामान्य भएको भन्दै नचाहेको खण्डमा ‘बल्क’ गर्ने सुविधा रहेकाले त्यसको प्रयोग गर्न सकिने धारणा व्यक्त गरेका छन् ।

अर्कोतर्फ व्यक्तिको इच्छाविपरित पटक–पटक सम्पर्क गर्नु वा हैरानी दिनु सामान्य विषय नभएको भन्दै सम्बन्धित निकायले गम्भीर रूपमा लिनुपर्ने तर्क गरेका छन् ।

रजकले यस विषयमा साइबर ब्युरोमा उजुरी गरे पनि प्रहरीले आवश्यक प्रक्रिया अघि नबढाएको आरोप लगाएकी थिइन् ।

यसबारे मकालुखबरले साइबर ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिलीप कुमार गिरीलाई प्रश्न गर्दा उनले आफू यसबारे जानकार नरहेको बताए ।

उनले भने ‘त्यो विषयमा म जानकार छैन । यदि प्रमाण लिएर साइबर ब्युरोमा आएर उजुरी दिनुभयो भने कारबाही अघि बढ्छ ।’

प्रहरी उपरीक्षक गिरीका अनुसार अनलाइन ह्यारेस गरेको, अनुपयुक्त, यौन संकेत गर्ने वा असहज बनाउने सन्देश पठाएको प्रमाण भएमा साइबर ब्युरोमा उजुरी दिन सकिन्छ ।

यस्तो अपराधमा कस्तो खालका सजाय हुन्छ ?’ भन्ने प्रश्नमा उनले तोकिएको कानुन अनुसारै सजाय हुने बताए । उनले अपराधको प्रकृति हेरेर फरक फरक सजाय हुने गरेको बताए ।

कारबाही अगाडि बढाउन सर्वप्रथम साइबर ब्युरोमा उजुरी दिन आवश्यक रहेको उनको भनाई छ ।

‘यदि ह्यारेस भएको हो भन्ने लागेको छ भने उजुरी दिन आउनु, हामीलाई इमेल गर्नुभयो भने पनि इमेलबाटै पनि उजुरी दर्ता हुन्छ ।’ उनले भने ।

उनले नेपालको कानुनले सेलिब्रिटिका लागि भनेर छुट्टै कानुन नबनाएको भन्दै सबैलाई एउटै कानुन लागु हुने बताए । यसका साथै उजुरी दिन जाँदासँगै प्रमाण लिएर आउन आग्रह गरे ।

‘प्रमाण लिएर आउनुपर्छ । स्क्रिन सट, के छ त्यो ल्याउनुभयो भने उजुरी दर्ता हुन्छ ।’

उनले साइबर अपराधबाट बच्न र बचाउन सबैलाई सचेत रहन आग्रह गरे । ‘सबै जनालाई आफू ह्यारेस भएको थाहा नहुन सक्छ’ भन्दै आफ्नो इच्छा विपरीत कसैले लगातार मानसिक वा अनलाइन रूपमा दुःख दिएमा तुरुन्तै साइबर ब्युरोमा उजुरी गर्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 16 =