इक्यान–आइप्यानबीच रणनीतिक समझदारी,‘स्टडी इन नेपाल’ अभियान अघि बढ्ने

काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान)बीच रणनीतिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

समझदारीमार्फत नेपालमा गुणस्तरीय उच्च शिक्षाको प्रवद्र्धन, शिक्षाको अन्तर्राष्ट्रियकरण तथा ’स्टडी इन नेपाल’ अभियानलाई प्रभावकारी रूपमा संयुक्त रूपमा अगाडि बढाउने दुवै संस्थाको प्रतिबद्धता रहेको जनाइएको छ ।

इक्यान विगत तीन दशकदेखि नेपालको शैक्षिक परामर्श क्षेत्रको अग्रणी छाता संस्था हो । संस्थाले नेपाली विद्यार्थीलाई विश्वका विभिन्न मुलुकका प्रतिष्ठित शैक्षिक संस्थासम्म पहुँच विस्तार गर्दै सुरक्षित, पारदर्शी, नैतिक तथा गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको जनाएको छ ।

यस्तै, आइप्यान नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त तथा शिक्षा मन्त्रालयबाट स्वीकृति लिएका उच्च शिक्षा प्रदायक संस्थाहरूको साझा संगठन हो। आइप्यानले नेपालमै अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा उपलब्ध गराउँदै शैक्षिक गुणस्तर, अनुसन्धान, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवद्र्धन गर्दै आएको छ ।

समझदारीअनुसार अब इक्यानका सदस्य संस्थाहरूले आइप्यानका सदस्य कलेज तथा शैक्षिक संस्थामा सञ्चालन हुने शैक्षिक कार्यक्रम, अध्ययनका अवसर, भर्ना प्रक्रिया, छात्रवृत्ति, करियर सम्भावना लगायतका विषयमा प्रत्यक्ष र अद्यावधिक जानकारी प्राप्त गर्नेछन् । यसबाट विद्यार्थी तथा अभिभावकलाई थप तथ्यपरक र गुणस्तरीय शैक्षिक परामर्श उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

दुवै संस्थाले ’स्टडी इन नेपाल’ अभियानलाई संयुक्त रूपमा अघि बढाउँदै नेपाललाई अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आकर्षक अध्ययन गन्तव्यका रूपमा स्थापित गर्न सहकार्य गर्ने सहमति गरेका छन् । यसअन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना, शैक्षिक ब्रान्डिङ, अनुसन्धान, अन्तर्राष्ट्रिय साझेदारी तथा शैक्षिक कूटनीतिलाई सुदृढ बनाइने जनाइएको छ ।

यस्तै, क्षमता अभिवृद्धि कार्यक्रम, शैक्षिक अभिमुखीकरण, अनुसन्धान, नीतिगत संवाद, बीटुबि नेटवर्किङ, अन्तर्राष्ट्रिय शिक्षा सम्मेलन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रवद्र्धनात्मक कार्यक्रमहरू संयुक्त रूपमा सञ्चालन गरिनेछ ।

समझदारीमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आर्थिक रूपमा कमजोर, जेहेन्दार तथा अवसरबाट वञ्चित विद्यार्थीलाई छात्रवृत्ति र विशेष शैक्षिक अवसर उपलब्ध गराउने विषयमा समेत सहकार्य गर्ने उल्लेख गरिएको छ ।

हस्ताक्षर समारोहमा दुवै संस्थाका पदाधिकारीहरूले यस सहकार्यले नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी, विश्वसनीय तथा विद्यार्थीमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । साथै, ’स्टडी इन नेपाल’ अभियानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन सरकार, विश्वविद्यालय, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य विस्तार गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =