नाडाको सप्ताहव्यापी स्वर्ण उत्सव, पूर्वअध्यक्षहरूलाई विशेष सम्मान

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको स्वर्ण उत्सव नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्यतामा काठमाडौंमा भव्य रूपमा उद्घाटन गरिएको छ ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित व्यवसायी, विभिन्न विशिष्ट व्यक्तित्व, नाडाका पूर्वअध्यक्ष, केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, सदस्य कम्पनीका प्रतिनिधि र सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

वि.सं. २०३२ सालमा स्वर्गीय तोलाराम दुगडद्वारा स्थापना गरिएको नाडाले आफ्नो स्थापना भएको ५० वर्ष पूरा गरेको अवसरमा सप्ताहव्यापी स्वर्ण उत्सव कार्यक्रम सुरु गरेको हो ।

स्वर्ण उत्सवलाई स्मरणीय बनाउन दशरथ रंगशाला, त्रिपुरेश्वरदेखि होटल याक एण्ड यतिसम्म विशेष ’वाकाथन’ कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नाडाका पदाधिकारी, पूर्वअध्यक्ष, सदस्य कम्पनीका प्रतिनिधि तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।

यस अवसरमा नाडाले संस्थाको नेतृत्व गरेका पूर्वअध्यक्षहरूलाई विशेष सम्मानसमेत गरेको छ ।

नाडाका अनुसार स्वर्ण उत्सव अन्तर्गतका कार्यक्रमहरू असार १३ गतेदेखि १९ गतेसम्म राजधानीसहित सातै प्रदेशमा विभिन्न कार्यक्रमका साथ सञ्चालन हुनेछन् ।

स्थापनाकालदेखि हालसम्म नाडाले २३ वटा अधिवेशन सम्पन्न गरिसकेको छ भने २१ जना अध्यक्षहरूले संस्थाको नेतृत्व गरिसकेका छन् । यस अवधिमा नाडाले ३६औँ संस्करणको ‘नाडा अटोमोबाइल ट्रेड डाइरेक्ट्री’, ५१औँ संस्करणको ‘नाडा अटो न्यूज’ तथा १८औँ संस्करणको ‘नाडा अटो ड्राइभ क्यालेण्डर’ प्रकाशित गरिसकेको जनाएको छ ।

त्यसैगरी आगामी भदौ महिनामा १८औँ संस्करणको ‘नाडा अटो शो’ आयोजना गर्ने तयारी पनि भइरहेको नाडाले जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतका वस्तुगत संघहरूमध्ये उत्कृष्ट एशोसिएशनको पुरस्कारबाट पटक–पटक सम्मानित नाडा सन् २०१५ देखि ‘ISO 9001:2015 QMS Certified Organization’ का रूपमा स्थापित रहेको छ । संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत देशभर विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्नुका साथै राष्ट्रिय विपत्तिका बेला सहयोगी भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।

 

स्वर्ण उत्सव समारोहको संयोजन तथा धन्यवाद ज्ञापन नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव मिलनबाबु मल्लले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + sixteen =