अघिल्लो सरकारले मुलुकलाई ग्रे लिष्टमा पार्यो, हामी निकाल्ने क्रममा छौँ: अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई जोखिमपूर्ण मुलुकको सूचि (ग्रे लिष्ट) बाट हटाउनका लागि सरकारले दक्षताका साथ काम गरिरहेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको सामान्य छलफलमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएका हुन् ।

अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट पारित हुने बित्तिकै आफ्नो मुख्य काम नै यसको कार्यान्वयन रहेको पनि बताए । उनले मुलुक ग्रे लिष्टमा अघिल्लो सरकारको पालामा परेको र वर्तमान सरकारले यसबाट निकाल्नका लागि इमानदार र दक्षतापूर्वक काम गरिरहेको दाबी समेत गरे ।

उनले भने ‘हाम्रा १५ वटा प्रमुख कार्यहरू छन् । यसमा ४ वटा वर्गीकरण छ । एडेस, लार्जली एड्रेस, पार्टली एड्रेस र नट एड्रेस भनेर हामीले गर्नुपर्ने कामहरूको मूल्याङ्कन भइरहेको छ । हामी आएपछि तीन वटा कुरामा लार्जली एड्रेस छ । त्यसलाई अरू चार वटा कुरामा लार्जली एड्रेस गराउँदै छौ हामीले । र यो सूचि हेरेर, इन्डिकेटर हेरेर त्यो लिष्टबाट बाहिर निस्कनका लागि जे गर्नुपर्छ सुधारहरू । त्यो गर्ने भन्ने प्रतिबद्धता अर्थमन्त्रीको तर्फबाट, अर्थ मन्त्रालयको तर्फबाट र यो सम्पत्ति सुद्धिकरण सम्बन्धी एउटा ठुलो निर्देशक समिति नै छ । राज्यका सबै प्रमुख अंगहरु यसमा सम्मिलित छन् । सबैलाई यो बजेट पास भइसकेपछि मेरो प्रदान जिम्मेवारी नै यो हुनेवाला छ कि यसलाई तत्काल तदारुकताका साथ कार्यान्वयनमा उत्रनेछौँ । र यो प्रगतिको चौमासिक मूल्याङ्कन हुने गर्दछ । त्यस्तो मूल्यांकनबाट ग्रे लिष्ट सम्बन्धी सबै कार्य सम्पन्न भएपछि मात्रै त्यो लिष्टबाट बाहिरिने व्यवस्था रहेको छ । अब यो नयाँ फेरी ग्रे लिष्टमा परिएछ भन्ने खालको त्यो भ्रामक समाचारहरू टेकेर केही माननीय सांसदज्युहरुले कुरा राख्नुभएको छ । यो ग्रे लिष्टमा फेरि परेको होइन । २०८१ मा पारिएका थियो मुलुकलाई । हामी निकाल्ने क्रममा छौँ । र त्यो निकाल्ने अवधि अझै बाँकी छ । त्यसलाई निकाल्नका लागि हामी इमानदार र दक्षताका साथ काम गरिरहेका छौँ ।’

अर्थमन्त्री वाग्लेले सरकारले अर्थतन्त्रको सबै सूचकलाई हेरेर ग्रे लिष्टबाट निकाल्ने गरी कामको थालनी गरिसकेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + thirteen =