एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँ: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी निर्वाचनको परिणामबाट केही कमजोर देखिए पनि समाप्त नभएको बताएका छन् ।

जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आइतबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले एमालेको एकता र सुदृढीकरणमा जोड दिएका हुन् ।

अध्यक्ष ओलीले निर्वाचनमा प्राप्त परिणामलाई एक ‘धक्का’ का रूपमा चित्रण गर्दै पार्टी पुनः सशक्त रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे । आफूहरू धक्काबाट उठेर प्रतिक्रियावादीहरूलाई पराजित गर्ने अठोट व्यक्त गरे । उनले विध्वंसको बाटोबाट नभई रचनात्मक, शान्तिपूर्ण बाटोबाट अग्रगामी परिवर्तनतर्फ आफूहरू अघि बढ्ने बताए ।

उनले भने ‘नेकपा एमाले एकताबद्ध छ, एकताबद्ध रहनेछ, सुदृढ छ, अझ सुदृढ हुनेछ । अहिले चुनावमा हामीले धक्का खाएका छौँ, यो धक्का हो तर हामी समाप्त भएका छैनौँ । धक्का खानु र समाप्त हुनु एउटा कुरा हो, हामी अहिले लडेका छौँ तर मरेका होइनौँ । फेरि उठ्छौँ हामी । फेरि उठेर हामी प्रतिक्रियावादीहरूसँग लड्छौँ र पराजित गर्छौँ । यो कुनै लुकेको कुरो छैन । हामी विध्वंसको बाटोबाट होइन, रचनात्मक बाटोबाट, शान्तिपूर्ण बाटोबाट हामी अग्रगामी परिवर्तनतर्फ अगाडि बढ्छौँ, पश्चगामी, प्रतिगामी षडयन्त्रहरूलाई पराजित गर्दै धक्कालाई पराजित गर्दै फेरि धुलो टकटक्याउँदै उठ्छौँ। हाम्रो विजय अवश्यम्भावी छ ।’

पार्टीको आगामी कार्यदिशाबारे स्पष्ट पार्दै उहाँले एमाले विध्वंसको बाटोमा नभई रचनात्मक र शान्तिपूर्ण ढंगले अग्रगामी परिवर्तनतर्फ केन्द्रित हुने बताए । पश्चगामी र प्रतिगामी षड्यन्त्रहरूलाई पराजित गर्दै एमालेको विजय सुनिश्चित रहेको उनको दाबी थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =