वामपन्थीहरूले हात मिलाउनुको विकल्प छैन, आजैदेखि एकताको प्रक्रिया थालौँ: झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीहरूले हात मिलाउनुको विकल्प नरहेको भन्दै वाम एकतालाई आजकै दिनदेखि दीर्घकालीन रूपमा अघि बढाउन आह्वान गरेका छन् ।

आइतबार जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो आह्वान गरेका हुन् ।

मुलुकको राजनीतिक परिस्थितिले फेरि एकचोटी वा एकताको आवश्यकताको महसुस गराएको उनको भनाइ छ । उनले लामो समयपछि नेकपाका संयोजक पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिलाई सकारात्मक संकेत भएको भन्दै विचारको स्तरबाट सुरु भएको सहकार्यलाई दीर्घकालीन राजनीतिक एकतामा रूपान्तरण गर्न आग्रह समेत गरे ।

उनले देशमाथि साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरूले दबाब सिर्जना गरिरहेको दाबी गर्दै त्यसको सामना गर्न वामपन्थी शक्तिहरू एकजुट हुनुको विकल्प नरहेको बताए ।

उनले भने ‘आज दुई वटा प्रमुख वामपन्थी दलका नेताहरू यहाँ उपस्थित हुनुभएको छ । कतिपय मान्छेलाई यो आश्चर्य लागेको हुन सक्छ । अनौठो लागेको हुन सक्छ । तर वामपन्थी एकता आज मात्रै होइन, अनेकन कालखण्ड देखि यो जरुरत थियो । तर बीचको कालखण्डमा हामीहरूमा कहिले सिङ पलायो, कहिले जुरो पलायो, के–के पलायो पलायो । त्यही कारण विगतमा हामी एकताबद्ध हुन सकेनौँ । अब समयले हामीलाई झिस्काउन थालेको छ । परिस्थितिले हामी एउटा बाध्यात्मक परिस्थितिमा खडा गर्न थालेको छ । त्यसले गर्दा आज हामी वामपन्थीहरू फेरि एकताबद्ध हुँदैछौं । आज विचार गोष्ठीमा हामी एकताबद्ध भयौँ । म सबै कमरेडहरूलाई आग्रह गर्न चाहन्छु, अब यही दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रूपले अगाडी बढाउने कामको थालनी गरौँ । तब मात्रै आज हाम्रो देश माथि जुन ढंगले साम्राज्यवादीहरूले र प्रतिक्रियावादीहरूले बबण्डर मच्चाइरहेका छन् त्यसका विरुद्धको लडाई गतिशील भएर अगाडी बढ्नसक्छ ।’

प्रधानमन्त्री बालेन्द्र साहलाई तानाशाहीको रूपमा चित्रण गर्दै नेता खनालले तानाशाही प्रवृत्ति विरुद्ध एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =