करको दर घटाएर राजश्व बढाउने अर्थमन्त्री डा. वाग्लेको योजना- ‘लाफर कर्व’ को सिद्धान्तलाई आधार बनाइने

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करको दर घटाएर आन्तरिक राजस्व वृद्धि गर्ने सरकारको रणनीति रहेको स्पष्ट पारेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले उच्च करको दरले राजस्व बढाउनुको सट्टा घटाउने र अनौपचारिकता बढाउने तर्क गरे ।

अर्थशास्त्रको ‘लाफर कर्व’ को सिद्धान्तलाई उद्धृत गर्दै अर्थमन्त्री वाग्लेले करको दर एउटा निश्चित बिन्दुसम्म बढाउँदा राजस्व संकलन बढे पनि त्यसपछि थप वृद्धि गर्दा राजस्व घट्न थाल्ने बताए ।

सरकारले यस पटक उच्च सीमान्त करको दरमा १० प्रतिशत बिन्दुले कटौती गर्ने प्रस्ताव गरेको जानकारी दिँदै उनले यसबाट राजस्व संकलनमा सकारात्मक प्रभाव पर्ने दाबी गरे । करको दरलाई व्यावहारिक र न्यायोचित बनाउँदा करदाताहरूमा ‘स्वेच्छिक अनुपालना’ बढ्ने उनको विश्वास छ ।

उनले भने ‘करको दर अत्यधिक हुँदा चोरी–पैठारी (स्मगलिङ) र अनौपचारिकता बढ्छ, जसले गर्दा करदाता राज्यको नजरबाट छल्ने र भाग्ने प्रवृत्ति देखिन्छ । त्यसैले बढी कर लगाउँदैमा बढी राजश्व उठ्छ भन्ने बुझाइ गलत हो । २९ देखि ३० प्रतिशतको करको दर आजको विश्वमा प्रगतिशील नै मानिन्छ । उचित कर तिरेर राज्यको नजरमा सम्मानित नागरिकका रूपमा बस्न पाउँदा करदातालाई मानसिक शान्तिसमेत मिल्छ । हामीले कर घटाएर राजश्व बढाउने नीति लिएका छौँ ।’

अर्थमन्त्री वाग्लेकाअनुसार करको दर उचित भएमा करदाताहरूले राज्यको नजरमा डराएर वा भागेर हिँड्नु पर्दैन । यस नीतिले करको दायरा विस्तार गर्न र अर्थतन्त्रलाई थप औपचारिक बनाउन सहयोग पुग्ने अर्थमन्त्रीको जिकिर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =