स्वास्थ्य र शिक्षामा समता शुल्क लगाउने कुरा स्वीकार्य हुँदैन: सांसद अवाल

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद गंगालक्ष्मी अवालले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगाएको समता शुल्क फिर्ता गर्न माग गरेकी छन् ।

आइतबार प्रतिनिधि सभा आर्थिक विधेयक, २०८३ माथि संशोधन प्रस्तुत गर्दै उनले यस्तो माग गरेकी हुन् ।

उनले विद्यालयमा प्रस्ताव गरिएको ‘शिक्षा समता शुल्क’ पनि खारेज गर्दै सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सरकारले प्राथमिकता दिनुपर्ने बताइन् । गुणस्तरीय शिक्षा र पूर्वाधार उपलब्ध गराएमा नागरिक स्वतः सामुदायिक विद्यालयतर्फ आकर्षित हुने उनको भनाइ थियो । उनले स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको ‘स्वास्थ्य समता शुल्क’ समेत अव्यवहारिक भएको बताइन् ।

सरकारी अस्पतालमा चिकित्सकको अभावले लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले निजी अस्पतालमा थप ३ प्रतिशत शुल्क लगाउनु जनहितविपरीत भएको बताइन् । उनले सरकारी अस्पतालमा चिकित्सकको दरबन्दी बढाउन, आवश्यक औषधिको सहज उपलब्धता सुनिश्चित गर्न तथा एमआरआईलगायत अत्यावश्यक उपकरण थप्न सरकारलाई आग्रह गरिन् ।

उनले भनिन् ‘यहाँहरू एकचोटी कृपया सरकारी हस्पिटलमा गएर अनुगमन गर्नुहोस् । कृपया २ बजे जानुस्, ३ बजे जानुस्, ५ बजे जानुस्, ८ बजे जानुस्, दिउँसो जानुस्, एकचोटी अनुगमन गर्नुस् अनि हृदयमा छातीमा हात राखेर निर्णय गर्नुहोला कि यो समता शुल्क स्वास्थ्यमा लगाउने ठिक हो कि होइन भनेर अनि बल्ल निर्णय गर्नुहोला । किनभने म आफैँ गएको छु, भोगेको छु । सरकारी अस्पतालहरूमा डाक्टरहरूको दरबन्दी नै पुगेको छैन । बिहान देखि लाइन बस्नु पर्ने अनि दिनभरि २ दिन ३ दिन लागेर उपचार गर्न जान कसलाई मन पर्छ रु बाध्य भएर समय बचतको लागि पनि त सरकारीमा निजीमा जान्छ होला नि त । निजीमा गएपछि पनि फेरि सम्पूर्ण शुल्कमा ३ प्रतिशत फेरि समता शुल्क लगाउने भन्ने कुरा यो चाहिँ स्वीकार्य छैन ।’

सांसद अवालले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीबाट शिक्षण शुल्कबापत विदेशी मुद्रा सटहीमा ३ प्रतिशत शुल्क असुल्ने व्यवस्था हटाउनुपर्ने बताइन् । उक्त व्यवस्था पूर्ण रूपमा हटाउन नसकिने भए कम्तीमा १ प्रतिशतमा झार्न सरकारसँग आग्रह गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =