लागुऔषधको कुलतबाट छुटेकाहरूलाई व्यावसायिक तालिमः आत्मनिर्भर बन्ने नयाँ आशा

एजेन्सी । काबुलस्थित एक व्यावसायिक प्रशिक्षण केन्द्रमा यतिबेला मेसिनको आवाज गुन्जिरहेको छ । यहाँ प्रशिक्षार्थीहरू कोही कपडा सिलाउन, कोही विद्युतीय उपकरण मर्मत गर्न त कोही छालाको जुत्ता बनाउन तल्लीन छन् ।
केही महिना अघिसम्म यी हातहरू लागुऔषधको गम्भीर लतका कारण काँपिरहेका हुन्थे। तर आज तिनै हातहरूले व्यावसायिक सीप सिकिरहेका छन्, जसले उनीहरूलाई जीवनको दोस्रो अवसर प्रदान गरेको छ ।
प्रशिक्षार्थीहरूमध्ये २२ वर्षीय मोहम्मद जिया एक हुन् । विगत ६ वर्षदेखि मेथाम्फेटामाइन र गाँजाको लतमा फसेका कारण इन्जिनियर बन्ने उनको सपना बीचमै रोकिएको थियो ।
आफ्नो अनुभव सुनाउँदै जिया भन्छन्, ‘जब म यहाँ आएको थिएँ, म सियोमा धागो हाल्न समेत सक्दिनथेँ। आज प्रशिक्षकहरूको सहयोगले मैले धेरै सीपहरू सिकिसकेको छु । शुरुका दिनमा म शारीरिक रूपमा निकै कमजोर र पीडामा थिएँ, तर अहिले मेरो स्वास्थ्यमा सुधार आएको छ र मभित्र भविष्यप्रति आशा जागेको छ ।’
यस प्रशिक्षण केन्द्रले लागुऔषधको लतबाट मुक्त भएका व्यक्तिहरूलाई आत्मविश्वासका साथ समाजमा पुनःस्थापित गर्न चार महिनाको व्यावहारिक र सैद्धान्तिक तालिम प्रदान गर्दै आएको छ ।
यहाँ दर्जी, जुत्ता निर्माण र विद्युतीय उपकरण मर्मत लगायत पाँचवटा विधामा तालिम दिइन्छ । केन्द्रका व्यावसायिक प्रशिक्षण कार्यक्रम निर्देशक मोहम्मद वासिल विसालका अनुसार यो कार्यक्रमको सातौँ चरण हो ।
उनले भने, ‘अहिले ४ हजार भन्दा बढी मानिसहरू तालिम लिइरहेका छन् भने कार्यक्रम सुरु भएदेखि हालसम्म १२ हजार भन्दा बढीले स्नातक गरिसकेका छन्। हाम्रो मुख्य लक्ष्य भनेको उनीहरूलाई आत्मनिर्भर बनाउनु हो ताकि उनीहरू पुनः कुलतमा नफसी आफ्नो जीविकोपार्जन गर्न सकुन् । ’
तालिम केन्द्रमा लघमान प्रान्तका २८ वर्षीय खालिद पनि सर्ट सिलाउन व्यस्त देखिन्छन् । सात वर्षको कुलत त्यागेर तालिम लिइरहेका उनी समाजले दुव्र्यसनीहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्ने बताउँछन् ।
खालिद भन्छन्, ‘समाजले दुर्व्यसनीहरूलाई देख्नेबित्तिकै नराम्रो ठान्छन् र परिवारले पनि आशा मारिसकेका हुन्छन्। म यहाँबाट निस्किएपछि आफ्नै टेलरिङ पसल खोल्न चाहन्छु ।’
उनले युवाहरूलाई लागुऔषधबाट टाढै रहन आग्रह गर्दै यले व्यक्ति मात्र नभई पूरै परिवार नष्ट गर्ने चेतावनी समेत दिए ।
तालिम केन्द्रमा जुत्ता बनाउने सीप सिकाउने ३३ वर्षीय प्रशिक्षक मुस्तफाको कथा पनि प्रेरणादायी छ । उनी आफैँ १२ वर्षसम्म लागुऔषधको गम्भीर लतमा थिए ।
‘पहिले मानिसहरूले हामीलाई समाजको सामान्य सदस्यका रूपमा हेर्दैनथेँ । अहिले म शारीरिक, मानसिक र भावनात्मक रूपमा परिवर्तन भएको छु र आफ्नो भविष्य सुरक्षित देख्छु ।’ मुस्तफाले बताए ।
व्यावसायिक सीप र पुनस्र्थापनाको यो संयोजनले अफगानिस्तानमा लागुऔषधको चपेटामा परेका हजारौँ युवाहरूका लागि जीवनको नयाँ मार्ग प्रशस्त गरिरहेको छ ।









