इजरायल र लेबनानबीच ‘दिगो शान्ति’का लागि खाका तयार

एजेन्सी । इजरायल र लेबनानबीच ‘दिगो शान्ति र सुरक्षा’ कायम गर्नका लागि एउटा नयाँ खाका सम्झौता भएको छ । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले दुई देशबीच अमेरिकाको मध्यस्थतामा यस्तो सहमति भएको घोषणा गरेका हुन् ।
विगतमा भएका युद्धविरामका प्रयासहरू असफल भइरहेका बेला यो नयाँ प्रयास अगाडि आएको हो । वासिङ्टन डीसीमा सम्पन्न राजदूत स्तरीय वार्ताको अन्त्यमा यस सम्झौतामा हस्ताक्षर गरिएको हो । यस सहमतिले दुई मध्यपूर्वी राष्ट्रहरूबीच पुनः युद्धविराम कार्यान्वयन गर्न आह्वान गरेको छ ।
सम्झौताबारे बोल्दै अमेरिकी विदेश मन्त्री मार्को रुबियोले भने, ‘आज एक सुखद् दिन हो । हामीले लेबनानको सार्वभौम सरकार र इजरायलबीच अमेरिकाको मध्यस्थतामा दिगो शान्ति र सुरक्षाको खाका तयार भएको घोषणा गरेका छौँ । यो पहिलो कदम हो, जुन कहिलेकाहीँ सबैभन्दा कठिन हुन्छ । तर यो एक महत्वपूर्ण शुरुवात हो ।’
यद्यपि, यस सम्झौताका विस्तृत विवरणहरू अझै स्पष्ट भइसकेका छैनन् । यो नयाँ सम्झौता यसअघिका युद्धविरामका प्रयासहरूभन्दा कसरी फरक छ भन्नेबारे दुवै पक्षले विस्तृत व्याख्या गरेका छैनन् ।
अमेरिकी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार दुवै पक्ष अमेरिकाको मार्गनिर्देशनमा ‘पाइलट जोन’ (नमूना क्षेत्र) निर्माण गर्न सहमत भएका छन् । ती क्षेत्रहरूमा लेबनानी सशस्त्र बलको मात्र पूर्ण नियन्त्रण रहनेछ र अन्य कुनैपनि गैर–राज्य सशस्त्र समूहहरूलाई त्यहाँ अनुमति दिइने छैन ।
विज्ञप्तिमा भनिएको छ, ‘यी कदमहरूले पूर्ण शान्ति र सुरक्षा सम्झौताको दिशामा अघि बढ्न सहयोग पुर्याउनेछन् ।’
सम्झौतामा अमेरिकाका लागि इजरायली राजदूत येचिएल लेइटर र लेबनानी राजदूत नादा हमादेहले हस्ताक्षर गर्दै यसलाई लेबनानको सार्वभौमसत्ता र अखण्डता पुनस्र्थापना गर्ने तथा शत्रुतापूर्ण गतिविधिको अन्त्य गर्ने दिशामा ‘पहिलो पाइला’ भएको बताए ।
इजरायली राजदुत लेइटरले यसलाई ‘कार्यसम्पादनमा आधारित त्रिपक्षीय सम्झौता’ भन्दै यसमा इरान र हेजबुल्लाहको कुनै भुमिका नरहने र यसले इजरायल र लेबनानबीच शान्तिको बाटो खोल्ने दाबी गरे ।
गत अप्रिलमा भएको युद्धविराम लागू भएदेखि नै इजरायल र सशस्त्र समूह हेजबुल्लाहले एक–अर्कालाई पटक–पटक युद्धविराम उल्लंघनको आरोप लगाउँदै आएका छन् । उल्लेखनीय छ कि इरान समर्थित लेबनानी समूह हेजबुल्लाह यस वार्ता प्रक्रियामा सहभागी छैन ।









