भेनेजुएला भूकम्पः मृतकको संख्या ९२० पुग्यो, ५० हजारभन्दा बढी बेपत्ता

एजेन्सी । भेनेजुएलामा गत बुधवार गएको दुईवटा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ ।
सरकारी अधिकारीहरूले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार यस प्राकृतिक विपत्तिमा परी ३ हजार ३ सय ६० जना घाइते भएका छन् । भूकम्पका कारण भग्नावशेषमा अझै १७२ जना पुरिएको आशंका गरिएको छ भने ३ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।
बेपत्ता व्यक्तिहरूको खोजीका लागि सञ्चालित एक वेबसाइटकाअनुसार शुक्रबार मध्याह्नसम्म ५० हजारभन्दा बढी मानिसको अवस्था अझै अज्ञात रहेको छ ।
भौतिक क्षतितर्फ १३ वटा अस्पताल र २५ वटा व्यापारिक केन्द्रसहित कुल ३८३ वटा भवनहरूमा क्षति पुगेको छ । हाल भेनेजुएलामा राहत तथा उद्धार कार्यका लागि ८७० भन्दा बढी अन्तर्राष्ट्रिय उद्धारकर्मीहरू परिचालित छन् ।
आपत्कालीन प्रतिकार्य र राहत वितरणलाई थप व्यवस्थित बनाउन राजधानी काराकासमा स्वयंसेवक दर्ता केन्द्र स्थापना गरिएको छ । दर्ता भएका स्वयंसेवकहरूलाई उनीहरूको दक्षता र क्षमताका आधारमा विभिन्न क्षेत्रमा परिचालन गरिने बताइएको छ ।
यसैबीच, शुक्रवार भेनेजुएलाको उत्तरी तटमा ४.७ रेक्टर स्केलको पराकम्प महशुस गरिएको युरो–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरले जनाएको छ । पराकम्पहरू अझै जारी रहेकाले उद्धार कार्यमा चुनौती थपिएको छ ।
यस विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेहरूमध्ये कम्तीमा सात जना चिनियाँ नागरिक रहेको भेनेजुएलास्थित चिनियाँ दूतावासले पुष्टि गरेको छ । अधिकारीहरूले खोज तथा उद्धार कार्यलाई तीव्रता दिँदै थप मानवीय क्षतिको विवरण संकलन गरिरहेका छन् ।









